काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत हुने व्यवसाय घट्न पुगेको छ । गत आर्थिक वर्षको तुलनामा जीवन बीमकहरुको यस्तो व्यवसाय ४.८७ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ७१ करोड ३२ लाख रुपैयाँ व्यवसाय भित्र्याएको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको यसै अवधिसम्म २ अर्ब ५८ करोड १० लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।
सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये १० वटा कम्पनीले मात्रै हाल वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आइरहेका छन् । जसमध्ये ६ वटा कम्पनीको यस्तो व्यवसाय गत आवको तुलनामा घट्न पुगेको छ भने बाँकी ४ वटा कम्पनीले भने उल्लेख्य बढाएका छन् । समग्रमा उक्त बीमालेख बिक्री गरेका बीमकहरुको यस्तो व्यवसाय भने ४.८७ प्रतिशतले घटेको देखिएको हो ।
वैदेशिक रोजगार बीमालेख संख्या बढेपनि बीमकहरुले सो बाट आर्जन हुने बीमाशुल्क भने बढाउन सकेका छैनन् । गत आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या घट्दा यसको प्रत्यक्ष असर वैदेशिक रोजगार बीमा व्यवसायमा परेको नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बताए ।
‘राष्ट्र बैंकको तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या घटेको देखिन्छ । तुलनात्मक रुपमा विदेशीने नेपालीको संख्या घट्दा वैदेशिक रोजगार बीमा व्यवसाय पनि सामान्य खुम्चिनु स्वभाविक हो’ उनले भने, ‘तर केही कम्पनीको यस्तो व्यवसाय गत वर्षको तुलनामा उल्लेख्य बढेको पनि देखिन्छ । वैदेशिक रोजगार बीमालेख अनिवार्य भएतापनि यो कुल बीमा व्यवसायको सानो हिस्सा हो । यस्तो व्यवसाय घट्दा जीवन बीमा कम्पनीको कुल व्यवसायमा खासै असर पार्दैन ।’
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आवको तेस्रो त्रैमाससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ रहेको छ । जुन यो गत वर्षको तुलनामा १५.०६ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म यस्तो संख्या ३ लाख ८७ हजार ८३९ थियो ।
त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि गत आवको तुलनामा २.४० प्रतिशतले घटेको छ । चालु आवको तेस्रो त्रैमाससम्म यस्तो संख्या २ लाख १२ हजार ७२१ रहेको छ । गत वर्ष भने यस्तो संखया २ लाख १७ हजार ९५९ रहेको थियो ।
सरकारले वैदेशिक रोजगारमा गएका नेपाली कामदारको बीमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बीमातर्फ साविकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानी लगायतका सुविधाहरुका अतिरिक्त मृगौला फेल, क्यान्सर जस्ता विभिन्न १५ प्रकारका घातक रोग बापत थप ५ लाख बीमाङ्क बराबरको बीमा हुने व्यवस्था २०७३ माघ १५ गतेबाट लागू गरेको थियो ।
उक्त व्यवस्थापछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले सम्बन्धीत जीवन बीमा कम्पनीबाट २० लाख रुपैयाँसम्मको बीमा दाबी रकम पाउन सक्ने व्यवस्था रहेको छ ।
वैदेशिक रोजगार बीमालेखमार्फत कुनले कति भित्र्याए व्यवसाय ?
चालु आर्थिक वर्षको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । तर यो व्यवसाय गत आवको तुनलामा भने सामान्य गिरावट हो ।
गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले यस्तो बीमालेख बिक्रीमार्फत २ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
२०८१ वैशाखसम्म सर्वाधिक यस्तो व्यवसाय भित्र्याउनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले ६४ करोड ७३ लाख रुपैयाँ वैदेशिक रोजगार बीमालेखमार्फ प्रिमियम संकलन गरेको छ । यो रकम गत वर्षको तुलनामा ३२.५६ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्म सन नेपाल लाइफले यस्तो बीमालेखमार्फत ९५ करोड ९९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
तथ्याङ्क हेर्दा पछिल्लो समय सन नेपाल लाइफको यस्तो व्यवसाय घट्दै गएको देखिन्छ । सबैभन्दा पहिले वैदेशिक रोजगार बीमालेख बिक्री गर्न थालेको सन नेपालको यस्तो व्यवसाय खोसिन थालेको छ । अन्य कम्पनीहरुले यस्तो व्यवसाय बढाउँदै जाँदा सन नेपालको व्यापार हिस्सा खुम्चिन पुगेको देखिन्छ ।
त्यस्तै, नेपाल लाइफले ५४ करोड १६ लाख, आइएमई लाइफले ३० करोड ५९ लाख, एशियन लाइफले २५ करोड १ लाख, नेशनल लाइफले २३ करोड १२ लाख, सुर्यज्योति लाइफले १८ करोड ८० लाख, सानिमा रिलायन्स लाइफले १७ करोड २८ लाख, रिलायबल नेपाल लाइफले १५ करोड ५५ लाख, सिटिजन लाइफले ८ करोड ६५ लाख र प्रभु महालक्ष्मी लाइफले १७ लाख रुपैयाँ मात्रै यस्तो बीमालेख बिक्रीमार्फत प्रिमियम संकलन गरेको छ ।
गत आवको तुलनामा यस्तो व्यवसाय ४ वटा कम्पनीले बढाएका छन् भने बाँकी ६ वटा कम्पनीको व्यवसाय घटेको छ । सर्वाधिक व्यवसाय बढाउनेमा एशियन लाइफ रहेको छ । गत वर्ष वैदेशिक रोजगार बीमालेखमार्फत ६३ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको एशियनले चालु आवको यस अवधिसम्म ३८६९.९४ प्रतिशतले व्यवसाय बढाएर २५ करोड १ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
वैदेशिक रोजगार बीमालेख संख्या पनि एशियन लाइफले नै सर्वाधिक बढाएको छ । बीमालेख संख्या वृद्धि भएपछि सो बाट आर्जन हुने बीमाशुल्क बढ्न पुगेको हो । कम्पनीले पछिल्लो समय वैदेशिक रोजगार बीमा बिक्रीबाट व्यवसायको हिस्सा बढाउँदै लगेको छ । अन्य कम्पनीको यस्तो व्यवसाय घटेपनि एशियनले भने वैदेशिक रोजगारमा जाने नेपालीको बीमा गरेर आफ्नो व्यवसाय ग्रोथ गरिरहेको तथ्याङ्ककले देखाएको छ ।
त्यस्तै, नेशनल लाइफले ९३.९२ प्रतिशत, नेपाल लाइफले ५८.३० प्रतिशत र रिलायबल नेपाल लाइफले ११.५३ प्रतिशतले यस्तो व्यवसाय बढाएका छन् । गत आवको तुलनामा यस्तो व्यवसाय सर्वाधिक घट्नेमा भने प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको व्यवसाय ९१.७२ प्रतिशतले घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                