काठमाण्डौ । सिटिजन्स बैंकका डेपुटी सीइओ पारश कुमार काफ्लेको निधन भएको छ । काफ्लेको हृदयघातका कारण ५० वर्षको उमेरमा गत जेठ २० गते निधन भएको हो ।
बैंकिङ सम्बन्धी एक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका बेला काफ्लेलाई हृदयघात आएको थियो । उनी ‘बैंकिंग फाइनान्स एण्ड इन्योरेन्स’ नामक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका थिए । हृदयघातपश्चात उनलाई श्रीलंकाको नावालोका अस्पताल लगिएको थियो । जहाँ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीएस गरेका काफ्लेसँग बैंकिङ क्षेत्रमा ३२ वर्षभन्दा बढीको अनुभव छ। उनको अनुभव र विशेषज्ञताका क्षेत्रहरूमा ट्रेड फाइनान्स, क्रेडिट सञ्चालन, शाखा व्यवस्थापन, बैंक सञ्चालन, सम्बन्ध व्यवस्थापन (कर्पोरेट क्रेडिट र एसएमई ऋण दुवैमा), परिचालन जोखिम व्यवस्थापन र अनुपालन समावेश छ। उनले ७ वर्षसम्म बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)को रुपमा सञ्चालनको नेतृत्व गरेका थिए ।
उतले बैंकका विभिन्न विभागहरू जस्तै दायित्व मार्केटिङ (रिटेल बैंकिङ), केन्द्रीय सञ्चालन, केन्द्रीय प्रशासन, सूचना प्रविधि र ट्रेजरी व्यवस्थापनका क्षेत्रमा काम गरेका थिए ।