काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आइतबार विधिवत रुपमा उक्त शाखाको उघाट्न गरेका हुन्। यसपश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ।
उक्त अवसरमा मन्त्री गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुसी लागेको बताउँदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए। उनले व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदर तुलनात्मक रुपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीहरुलाई निर्धक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरे।
गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीको सभापितत्वमा सम्पन्न कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँड, वालिङ नगरका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, बागमती प्रदेशका प्रादेशिक प्रबन्धक ध्रुब अर्याल, शाखा प्रबन्धकहरु, कर्मचारीहरुलगायत सर्वसाधारणहरुको उपस्थिति थियो। कार्यक्रम प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममासहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पीएसओ (प्वइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                