काठमाण्डौ । शेखर कोइराला समूहले सक्रियता बढाएसँगै नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेर अब बन्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमै गठन हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
शनिवार पार्टी संसदीय दलको बैठकले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ ।
संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले हतार हतार यस्तो निर्णय गराएका हुन् । तर, यो निर्णयबाट कांग्रेसभित्र पछिल्लो समय फरक राजनीतिक समीकरण निर्माणको प्रयासमा जुटेको कोइराला समूह भने सन्तुष्ट छैन ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै संविधानको धारा ७६(२) अनुसार नै एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् ।
‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको र त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने उल्लेख गर्दै उनले बाँकी कुराहरुले खासै असर नपार्ने बताए ।
उनले कांगे्रेस र एमाले मिलेर बनाउन लागेको नयाँ सरकारको पक्षमा दुईतिहाईभन्दा बढी मत जुटेको समेत दाबी गरे ।
बैठकले संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरुको समीक्षा गरेर संविधानलाई समसामुहिक रुपले संशोधन, परिमार्जन गर्ने, संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रतात्क शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्ने कुराको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्नका लागि कांग्रेसले पुनः प्रतिबद्धता व्यक्त गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                