काठमाण्डौ। सरकारले असारको २५ दिनमा पौने २ खर्ब रुपैयाँ बजेट खर्च गरेको पाइएको छ।
आज २५ गते असारसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको हो।
जसमा १ असारका दिन ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएको तथ्यांक थियो। जसमा बाँकी २५ दिनमा सरकारले १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ।
सरकारले यस वर्ष १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ। मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सरकारले कुल लक्ष्यको ७७.४४ प्रतिशत बजेट खर्च गरेको छ।
सरकारी कार्यालयमा आएर रोकिएका बिल बाहेक अब नयाँ भुक्तानी हुने नहुने बताइएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धित नियमावलीको प्रावधानअनुसार आर्थिक वर्ष समाप्त हुनु एक साता अगाडि नै सरकारले भुक्तानी बन्द गरिसक्नुपर्छ।
सोही कारण सरकारले सबैभन्दा बढी भुक्तानीको चाप सोमबार बेहोरेको छ।
पछिल्लो प्रवृत्तिले असारमा भुक्तानी कम गराउने सरकारको घोषणा फेरी नारामै सीमित हुन पुगेको छ।
हरेक आर्थिक वर्षमा सरकारले पुँजीगत खर्चको ३० प्रतिशत माथि भुक्तानी असारमा गर्दै आएको छ।