काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे फेरी बिजुलीको लाइन काटिने बताएका छन्।
शुक्रबार लेखा समिति बैठकमा उनले बक्यौता महसुल भुक्तानी गर्ने सर्तमा लाइन काटिएका उद्योगमा बिजुली जोडिदिएको बताएका हुन्।
उनले भने,‘६० दिनभित्र महसुल तिरेन भने लाइन फेरी कट्नुको विकल्प छैन्। लाइन काट्न अवरोध हुँदा बक्यौता बढेको छ।
राजस्व उठाएर लगानी गर्ने हो, कर्मचारीलाई बाढेर खाने होइन, देशका सबै निकायमा निर्णय भइसकेपछि हामी लेखा समितिमा अहिले छलफल गरिरहेका छौं। यो विवादलाई छिट्टै समाधान गर्नुपर्छ।’
प्राधिकरणले बिजुली महसुल विवादमा २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटिदिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि ८ साउनमा बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा पुनः बिजुली जोड्ने निर्णय गरेको थियो।