बुधबार, भाद्र २५,२०८२ 12:11:12
  • बुधबार, भाद्र २५,२०८२ 12:11:12
Global IME Bank Limited

जीवन बीमकहरुबाट झण्डै एक खर्बको बीमालेख धितोकर्जा प्रवाह, रु.९.८९ ब्याज आम्दानी

Hyundai Nepal
जीवन बीमकहरुबाट झण्डै एक खर्बको बीमालेख धितोकर्जा प्रवाह, रु.९.८९ ब्याज आम्दानी

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा मात्रै ९७ अर्ब ७३ करोड ५२ लाख रुपैयाँको कर्जा प्रवाह गरेका हुन् ।  

जीवन बीमकहरुले प्रवाह गरेको यो बीमालेख धितोकर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ७।३४ प्रतिशत बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुबाट बीमितहरुले ९१ अर्ब ५ करोड ४० लाख रुपैयाँ बराबरको बीमालेख धितो राखी कर्जा लिएका थिए ।  

जीवन बीमा कम्पनीहरुमा बीमितले आफ्नो बीमालेख धितो राखी कर्जा लिन सकिने व्यवस्था छ । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदर भन्दा सहुलियतमा आफ्नो बीमितलाई कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ मा ‘बीमकले बीमालेखअन्तर्गत पुरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात् तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात् बीमालेख समर्पण गर्न तथा धितो राखेर ऋण प्रदान गर्न सक्नेछ’ भनी उल्लेख छ ।  

बीमालेखबाहेक अन्य कुनै पनि वस्तु धितो राख्नु नपर्ने भएकाले बैंकको तुलनामा बीमा कम्पनीबाट ऋण लिने प्रक्रिया झन्झटमुक्त मानिन्छ । निर्देशिका बमोजिम बीमितले बीमा प्रारम्भ भएको तीन किस्ता प्रिमियम तिरेपछि प्रिमियम रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाउनेछन् ।  

जस्तै, एउटा बीमितले बीमा प्रारम्भ भएको ३ वर्षपछि बीमालेख धितो राखेर कर्जा लिनु परेमा, सो बीमितले सम्बन्धीत कम्पनीमा तीन किस्तामा ५ लाख रुपैयाँ प्रिमियम तिरिसकेको छ भने उसले कम्पनीबाट साढे ४ लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछ ।  

पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । बैंकहरुबाट पर्याप्त कर्जा प्रवाह हुन सकेको छैन । यस्तो अवस्थामा बीमा कम्पनीहरुबाट भने धमाधम बीमालेख कर्जा प्रवाह भइरहेको तथ्याङ्कले देखाएको छ ।  

जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जाको ब्याजदर १० प्रतिशतसम्म लिने गरेका छन् । यसअघि कम्पनीहरुले १२ प्रतिशतसम्म यस्तो कर्जाको ब्याज असुल्ने गरेका थिए ।  

कुन कम्पनीबाट कति कर्जा प्रवाह ?  

गत आर्थिक वर्षमा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सबाट बीमालेखख धितोकर्जा प्रवाह भएको छ । कम्पनीबाट ३३ अर्ब ९१ करोड रुपैयाँको कर्जा प्रवाह भएको छ । नेपाल लाइफमा बीमितको संख्या धेरै भएका कारण पनि कर्जा प्रवाह धेरै देखिएको हो ।  

त्यस्तै, दोस्रोमा एलआइसी नेपालबाट २२ अर्ब २१ करोड रुपैयाँको कर्जा प्रवाह भएको छ ।  

यसका साथै नेशनल लाइफबाट १० अर्ब ९८ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीबाट ७ अर्ब ७१ करोड, हिमालयन लाइफबाट ७ अर्ब ३ करोड, एशियन लाइफबाट ४ अर्ब ९७ करोड, सूर्यज्योति लाइफबाट ४ अर्ब २७ करोड, मेट लाइफबाट १ अर्ब ७४ करोड, सानिमा रिलायन्सबाट १ अर्ब २४ करोड, प्रभु महालक्ष्मी लाइफबाट १ अर्ब ७ करोड, सिटिजन लाइफबाट ८१ करोड, आइएमई लाइफबाट ७० करोड, सन नेपाल लाइफबाट ६० करोड ९९ लाख र रिलायबल नेपाल लाइफबाट ४६ करोड १७ लाख रुपैयाँ बराबरको बीमालेख धितोकर्जा प्रवाह भएको छ ।  

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कर्जा प्रवाह बृद्धिमा भने सिटिजन लाइफ अगाडी छ । कम्पनीले २७।८७ प्रतिशतले कर्जा प्रवाह बढाएको छ ।  

बीमालेख धितोकर्जाबाट रु.९.८९ अर्ब आम्दानी  

जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा प्रवाह गरी हुने ब्याज आम्दानी २३।९७ प्रतिशतले बढ्न पुगेको छ । गत आवको अन्त्यसम्म १४ जीवन बीमकले कर्जा प्रवाह गरी ९ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

अघिल्लो आवमा भने कम्पनीहरुले ७ अर्ब ९८ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए । जीवन बीमा कम्पनीहरुबाट कर्जा प्रवाह बढ्न पुग्दा त्यसबाट हुने ब्याज आम्दानी समेत बृद्धि हुन पुगेको हो ।  

गत आवमा सर्वाधिक नेपाल लाइफले बीमालेख धितो कर्जा प्रवाह गरी ३ अर्ब ३९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

त्यस्तै, एलआइसी नेपालले २ अर्ब ३७ करोड, नेशनल लाइफले १ अर्ब १७ करोड, एशियन लाइफले ९१ करोड, हिमालयन लाइफले ८० करोड, सुर्यज्योति लाइफले ३७ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २४ करोड, मेट लाइफले १७ करोड, प्रभु महालक्ष्मी लाइफले ९ करोड ९७ लाख, सानिमा रिलायन्स लाइफले ९ करोड ३४ लाख, सिटिजन लाइफले ८ करोड, सन नेपाल लाइफले ६ करोड ९४ लाख, आइएमई लाइफले ६ करोड २४ लाख र रिलायबल नेपाल लाइफले ३ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।  

तर, अघिल्लो आवको तुलनामा गत आवमा ब्याज आम्दानी बढाउनेमा भने सानिमा रिलायन्स लाइफ अब्बल देखिएको छ । अघिल्लो आवमा बीमितहरुलाई बीमालेध धितो कर्जा प्रवाह गरी २ करोड ३० लाख रुपैयाँ मात्रै आम्दानी गरेको यस कम्पनीले गत आवमा भने ९ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको ब्याज आम्दानी ३०६.०२ प्रतिशतले बृद्धि भएको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि १६७.८१ प्रतिशतले ब्याज आम्दानी बढाएको छ । यता एशियन लाइफले पनि कर्जा प्रवाहसँगै त्यसबाट हुने ब्याज आम्दानी पनि ११२.३९ प्रतिशतले बढाएको छ ।

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.