काठमाण्डौ । विगत केही वर्षदेखि निकै राम्रो वित्तीय विवरण प्रकाशन गर्दै आएको एभरेष्ट बैंक लिमीटेड लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।
बैंकको भदौ २१ गते अपरान्ह १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(बोनसमा लाग्ने करसहित) वितरणको घोषणा गरेको छ ।
बैंकले गत वर्षको भन्दा कम लाभांश घोषणा गरे पनि आर्थिक मन्दीको प्रभाव परेको वर्षमा धेरै बैंकहरु लाभांश नै बाँड्न नसक्ने अवस्थामा पुगेका कारण एभरेष्टको प्रस्तावित लाभांशलाई सेयरधनीले सन्तोषजनक नै मानेका छन् ।
एभरेष्ट बैंकले यो वर्ष सबैभन्दा अगाडि लाभांश प्रस्ताव गर्नु पछाडिको कारणको रुपमा आउन लागेको दशैंअघि नै सेयरधनीलाई ‘दशैं खर्च’ दिनु रहेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले दशैंअघि नै सेयरधनीले खर्च पाउन् भन्ने उद्देश्यले सबैभन्दा अगाडि लाभांश घोषणा गरिएको हो ।
उनका अनुसार लाभांश प्रस्ताव सम्बन्धी सम्पूर्ण आवश्यक कागजात शुक्रबार(आज) नै तयार भइसकेको छ । अब आगामी आइतबार प्रस्तावित लाभांश स्वीकृतिका लागि बैंकले राष्ट्रबैंकमा पठाउनेछ ।
राष्ट्रबैंकले कुनै अप्रत्यासित कारणले एभरेष्ट बैंकको लाभांश स्वीकृत नगरेको अवस्थामा बाहेक सामान्य अवस्थामा चाँडै स्वीकृति आउने र त्यसपछि सेयरधनीलाई ‘दशैं खर्च’को रुपमा लाभांश दिने गरी वार्षिक साधारणसभा आह्वान गर्ने तयारी गरिएको खालिङले जानकारी दिए ।
‘हाम्रो उद्देश्य भनेकै सेयरधनीलाई दशैंअघि नै दशैं खर्च को रुपमा लाभांश वितरण गर्ने भन्ने रहेको छ ।’ खालिङले बिजशालासँग भने–‘राष्ट्रबैंकले समयमै स्वीकृत गरे हाम्रा सेयरधनीले दशैंअघि नै खर्च पाउनुहुनेछ ।’
एभरेष्ट बैंकले गत वर्ष(आ.ब. २०७९/८०) आफ्ना सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्योभन्दा अघिल्लो वर्ष(आ.ब.२०७८/७९) पनि २०.६८ प्रतिशत लाभांश बाँडेको थियो ।
बैंकले आर्थिक वर्ष २०५९/६० देखि ०८०/८१ सम्मका सबै आर्थिक वर्षहरुमा डबल डिजीटकै लाभांश वितरण गरेको लोभलाग्दो इतिहास बनाएको छ ।
हालसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७२/७३ मा ७० प्रतिशत लाभांश बाँडेको थियो । त्यसपछि २०७०/७१, ६९/७०, ०६५/६६, ०६६/६७, ०६७/६८ मा ६० प्रतिशत वा त्योभन्दा बढी नै लाभांश वितरण गरेको इतिहास रहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                