काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आजै साँझ आउने सम्भावना देखिएको छ ।
नीति तथा अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीतिलाई पारित गर्ने उद्देश्यले राष्ट्रबैंकले सञ्चालक समितिको बैठक आजै साँझ ५ बजेपछि बोलाएको छ । यदि आजको सञ्चालक समितिले मौद्रिक नीतिको समीक्षा पारित गरे आजै साँझ सार्वजनिक गरिने नेपाल राष्ट्रबैंकस्थित उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतकाअनुसार मौद्रिक नीतिमा सेयर बजारलाई प्रभाव पुग्ने गरी केही नीतिगत परिवर्तनहरु हुनसक्ने सम्भावना छ । मार्जिन प्रकृतिको कर्जा लगायतका कर्जाहरुको प्रवाह बढाउने गरी मौद्रिक नीति तयार भएकोले बोर्डबाट पास भएको खण्डमा केही लचक नीतिहरु आउनसक्छन् ।
सेयर धितो कर्जाको जोखिम भार, सीमा लगायतका विषयमा समेत केही लचक व्यवस्था आउनसक्ने बताइएको छ । तर, यी सबै विषय सञ्चालक समितिले पारित गर्नुपर्ने हुन्छ ।
उत्पादनमूलक लगायतका क्षेत्रमा कर्जा प्रवाह बढाउने गरी राष्ट्रबैंकले नीतिगत दरहरु पनि चलाउनसक्नेछ । निक्षेपको मात्र नभई कर्जाको ब्याजदर समेत अझै घटाउन सहयोग गर्ने हिसाबले केही नीतिगत व्यवस्था हुँदैछन् । ‘जसका कारण बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अधिक तरलताको सही व्यवस्थापन होस् र सुस्त बनेको आर्थिक गतिविधिमा प्राण भरियोस् ।’ स्रोतले भन्यो–‘बजारलाई थप चलायमान हुने गरी मौद्रिक नीतिको समीक्षा तयार गरिएको छ ।’
अर्थतन्त्रको ब्याकबोन मानिएका रियल स्टेट र सेयर बजार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उच्च प्राथमिकतामा पर्नसक्ने देखिएको छ ।