काठमाण्डौ । सेयरबजारमा अहिले सूचक घट्नु वा कारोबार रकम कमजोर हुनु मात्र चिन्ताको विषय होइन। बजारमा बढ्दै गएको डर र अनिश्चितता लगानीकर्ताका लागि ठूलो चुनौती बन्न थालेको छ।
यहीबीच, सेयरबजारमैत्री तथा ‘बुलिस’ अर्थमन्त्रीको छवि बनाएका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेपछि लगानीकर्ताको मनोबलमा थप मनोवैज्ञानिक दबाब परेको छ।
पौडेल अर्थमन्त्री भएका बेला नेपालको सेयरबजारले ऐतिहासिक उचाइ बनाएको थियो। बजारमा लगानीकर्ता उत्साहित थिए, कारोबार रकम बढ्थ्यो र नीतिगत संकेतलाई बजारमैत्री रूपमा हेरिन्थ्यो। त्यसैले धेरै लगानीकर्ताले उनलाई ‘बुलिस अर्थमन्त्री’को उपमा दिएका थिए।
तर, त्यही छविका पूर्वअर्थमन्त्री अनुसन्धानको दायरामा परेपछि बजारमा एउटा नयाँ प्रश्न उठेको छ-राजनीतिक र प्रशासनिक अनिश्चितता बढ्दै जाँदा लगानीको वातावरण कति सुरक्षित छ ?
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालका अनुसार पौडेल पक्राउ परेको विषयले मात्रै बजार घटेको निष्कर्ष निकाल्न मिल्दैन। तर यसले बजारमा पहिले नै कमजोर बनेको मनोबललाई थप असर गरेको छ।
“पूर्वअर्थमन्त्री पौडेलको पक्राउले मात्रै बजार घट्यो भन्न मिल्दैन,” उनले भने, “तर लगानीकर्ताको मनोबलमा केही प्रभाव पक्कै परेको छ। पछिल्लो समय ठूला व्यवसायी र बजारमा सक्रिय व्यक्तिमाथि अनुसन्धान तथा धरपकड बढेपछि लगानीकर्ताको आत्मविश्वास घटेको छ।”
उनका अनुसार बजारमा अहिले ठूला लगानीकर्ता खरिदका लागि सक्रिय छैनन्। कारोबार मुख्यतः साना ट्रेडरमा सीमित छ भने ठूलो पूँजी लिएर बजार प्रवेश गर्नेहरू अवस्था हेर्ने पक्षमा छन्।
“बजारमा अहिले वास्तविक खरिदकर्ता कम छन्,” लम्सालले भने, “ठूला लगानीकर्तामा आफू पनि अनुसन्धानको निशानामा पर्न सकिन्छ कि भन्ने मनोविज्ञान बनेको छ। यही कारण बजारमा पैसा भएर पनि खरिद गर्ने आँट कमजोर देखिएको छ।”
पौडेलको पक्राउले बजारमा केवल राजनीतिक प्रभाव मात्र पारेको छैन, यसले व्यवसायिक तथा लगानी
पौडेलको पक्राउले बजारमा केवल राजनीतिक प्रभाव मात्र पारेको छैन, यसले व्यवसायिक तथा लगानी वातावरणबारे पनि नयाँ बहस सुरु गराएको छ। ठूला घराना र प्रभावशाली व्यवसायी अनुसन्धानको दायरामा पर्न सक्ने चर्चाले बजारमा ‘अब को तानिन्छ ?’ भन्ने त्रास फैलिएको लगानीकर्ताहरू बताउँछन्।
यता, सेयर लगानीकर्ता कविराज तिमिल्सिना भने बजारको वर्तमान अवस्थालाई मुख्यतः असार मसान्तको दबाबसँग जोड्छन्। उनका अनुसार अहिले धेरै लगानीकर्ताले हिसाब मिलाउन र ऋण व्यवस्थापन गर्न सेयर बिक्री गरिरहेका छन्।
“अहिले बजार करेक्सन चरणमा छ। असार मसान्तका कारण बिक्री दबाब बढेको छ,” उनले भने, “पौडेल पक्राउ परे वा नपरे पनि बजारमा क्लोजिङ प्रेसर थियो। त्यसैले बजार साइडवेजमा चलेको हो।”
उनले असार मसान्तको दबाब सकिएपछि बजारमा क्रमशः सुधार देखिन सक्ने बताए। सरकारको अनुसन्धान प्रक्रिया निष्पक्ष र स्पष्ट भए सामान्य लगानीकर्ता डराउनुपर्ने अवस्था नहुने उनको भनाइ छ।
तर बजार विश्लेषकहरूका अनुसार सेयरबजारमा सबैभन्दा छिटो असर पर्ने तत्व मनोबल हो। लगानीकर्ताले नीति, नियामक, सरकार र कानुनी प्रक्रियामाथि भरोसा गर्न सकेनन् भने बजारमा पैसा भए पनि खरिदकर्ता सक्रिय हुँदैनन्।
अहिलेको बजारमा पनि त्यही दृश्य देखिएको छ। सूचकभन्दा ठूलो प्रश्न लगानीकर्ताको विश्वास बनेको छ। ‘बुलिस’ अर्थमन्त्रीको उपमा पाएका पौडेल पक्राउ परेपछि बजारले अर्को मनोवैज्ञानिक झट्का महसुस गरेको छ।
बजारले अब खोजिरहेको कुरा केवल सूचक बढाउने घोषणा होइन। लगानीकर्ताले डरबिना कारोबार गर्न सक्ने स्पष्ट नीति, निष्पक्ष अनुसन्धान र स्थिर वातावरण नै बजारमा भरोसा फर्काउने मुख्य आधार बन्नेछ।

