काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबारदेखि परेको अबिरल बर्षाका कारण काठमाण्डौ लगायत मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त गरेको छ । चेम्बरले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना जनाएको छ ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अबिरल बर्षाका कारणले देशको उद्योग धन्दा, पेशा व्यवसायमा गम्भिर असर गरेको भएपनि बजारमा औषधि, खाद्यन्न लगायत अत्यावश्यकीय बस्तुको अभाव हुन नदिन नेपाल चेम्बर अफ कमर्स सजग रहेको छ, ।’
चेम्बरले खाद्यन्न लगायतका वस्तुहरुको नियमित आपूर्तिको सुनिश्चितता गर्दै मुल्यवृद्धि हुन नदिने तर्फ सवै व्यवसायीहरुको सहयोग रहने समेत बताएको छ ।
बाढी पहिरोजन्य घटनाबाट जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले राहत तथा उद्धार एवं सहयोगका लागि चेम्बरका जिल्ला, प्रदेश एवं नगर चेम्बरहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै विपत्तीका कारण हुन गएको आफ्नो व्यवसायको क्षतिपूर्ति दाबी भुक्तानीका लागि बीमितहरुले बीमा कम्पनीहरु समक्ष बीमा रकम माग गरेमा यथाशिघ्र भुक्तानी दिलाउने व्यवस्था गर्न समेत चेम्बरले बीमा कम्पनीहरु समक्ष आग्रह गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                