काठमाण्डौ । आज नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच त्रिपक्षीय सम्झौता हुन लागेको हो ।
सम्झौता हस्ताक्षर कार्यक्रम आज अपराह्न ४ बजे होटल याक एण्ड यतीमा हुनेछ । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा हुनेछ ।
सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी)गत जेठ २९ गते नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको थियो । सीसीजीपीले प्रतियुनिट ८.१७ टका(करिब ९ रुपैयाँ)मा नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको थियो ।
विद्युत खरिदका लागि साउन १३ मा सम्झौता हुने तय भएको थियो । तर सम्झौता नहुँदै तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् ।
बंगलादेशमा नेपालबाट विद्युत नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत–बंगलादेश–बरामपुर–भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइनमार्फत प्रवाह गरिने छ ।