काठमाण्डौ । एनआईसी एशिया बैंकले विभिन्न सञ्चार माध्यममा बैंकले निर्धारित सीमाभन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले एक विज्ञप्ती जारी गर्दै केही सञ्चारमाध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयमा प्रकाशित समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको क्यापिटल एडिक्वेसी फ्रमेवर्क २०१५मा उल्लेखित जोखिम भार वर्गिकरण सम्बन्धी व्यवस्थाहरूमध्ये आवासिय सम्पत्तिभित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्यबैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यससम्बन्धमा आफ्नो बुझाई अनुरुप वर्गीकरण गरेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै,सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष रिपोटिङ गरेकोमा यस सम्बन्धमा केही सञ्चारमाध्यमहरूमा विभिन्न विषयहरू उठे पश्चा बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्रबैंकलाई रिपोटिङ गरि सकिएको बैंकले जनाएको छ ।
बैंकले रियल स्टेट सेक्टरमा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लगानी नगरेको बैंकले दाबी गरेको छ । रियल स्टेट सेक्टरमा मा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेकोमा बैंकले २०८० पौष मसान्तसम्ममा १०.१४ प्रतिशतमात्र कर्जा प्रवाह गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                