काठमाण्डौ । आज बजारमा दिनभर जसो नै गिरावट देखियो । अन्त्यमा बजार ३० अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । घट्दो बजारमा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिदैन ।
प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा नेप्सेको चार्टमा आज वियरिस मारुबुजु क्याण्डल बनेको छ । आज बनेको क्याण्डललाई अघिल्लो दिनको क्याण्डलसंग मिलाएर हेर्दा आज वियरिस इन्गल्फिङ प्याट्रन पनि बनेको छ । यदि अघिल्लो हरियो क्याण्डललाई पछिल्लो रातो क्याण्डलले पुरै ढाक्छ भने त्यसलाई वियरिस इन्गल्फिङ प्याट्रन भनिन्छ ।
बोलिङगर ब्याण्ड मार्फत आजको बजारलाई हेर्दा बजारले यस अघि मध्य ब्यान्डमा ५ पल्ट भन्दा बढी प्रतिरोध सामाना गरेर बजार तल खसेको छ । म्याक्डी मार्फत बजारलाई नियाल्दा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोनबाट खसेर हाल ४७ को तहमा ‘M ’ आकार बनाएको छ ।
समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा हाल मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर खसेको बजार तल्लो ब्याण्ड सम्म आउन सक्ने देखिन्छ । आज २०७० मा बन्द भएको बजार आगामी दिनमा पनि घट्छ भने अबको पहिलो बलियो सपोर्ट २०६० मा लिन सक्ने देखिन्छ ।
यदि त्यहाँबाट पनि तल खस्छ भने बजारले २०२५ र त्यहाँबाट पनि अझै तल खसेमा १९८० आसपास सपोर्ट लिन सक्छ । यदि बजार बढेमा भने क्रमश ः २१०८,२१३० र २१७५ मा प्रतिरोधको सामाना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।