काठमाण्डौ । एनआईसी एशिया बैंकले पछिल्लो समय बैंकप्रति विभिन्न सञ्चार माध्यममा भईरहेको आक्रमणको प्रतिकार गरेको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै बैंकका बारेमा भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण भईरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
केहि सञ्चार माध्यममा बैंकको कर्जा असुली चिन्ताजनक रहेको,बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोहि सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर पाण्डेको राजीनामा आएको लगायतका विषयमा प्रभाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएके बैंकद्वारा जरी विज्ञप्तीमा उल्लेख छ ।
हाल बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण नेपाल राष्ट्र बैंकको नियमित क्यालेन्डर अन्तर्गत भएको र यसै विषयलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामासँग जोडेर उनको, प्रमुख कार्यकारी अधिकृतको, अध्यक्षको, सञ्चालकहरुको र समग्र बैंकको प्रतिष्ठा, इमान्दारिता र कर्तव्यपरायणता समेतमा तथ्यहिन टिप्पणी हुनु खेदजनक रहेको बैंकले जनाएको छ ।
संस्थागत सुशासन, प्रचलित कानुन तथा नियमनकारी व्यवस्थाहरुको परिपालना र आम निक्षेपकर्ता, ऋणी, सेयरधनी, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको हकहितको विषयलाई बैंकले सधै उच्च प्राथमिकतामा राखेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।