काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्नवर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने÷गराउने सम्झौता भएको छ ।
वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा मंगलबार एक कार्यक्रमका बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् ।
ऋणीहरुको मृत्यु भएमा वा व्यवसाय विफल भएमा समेत कोषबाट सुविधा लिन सकिने कार्यक्रममा जनाइएको थियो । कार्यक्रममा कोषका प्रबन्धकहरु तथा वित्तीय संस्थाका विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
वित्तीय संस्थाले सातै प्रदेशमा १२१ वटा शाखा कार्यालयहरुमार्फत करिब १ लाख ५१ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । हाल वित्तीय संस्थाको ६० हजारभन्दा बढी ऋणी सदस्य र करीब ९ अर्ब ३३ करोड लगानीमा रहिरहेको कर्जा रहेको जनाइएको छ ।