काठमाण्डौ । संधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै क्रममा आज हामी ज्ञानेश्वर र नक्साल आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको विचार बुझ्ने प्रयास गरेका छौं । आज हामी ब्रोकर हाउसहरुमा पुग्दा पुसको चिसो मौसममा बजार घटेता पनि लगानीकर्ताहरुमा जोस र जाँगर भने नघटेको देखियो । केही लगानीकर्ताहरु नेप्से निरन्तर घट्दा घाटामा गएको बताईरेहका भेटिन्थे भने कोही बजार फेरि रफ्तारमा माथि जाने पनि तर्क गर्दै थिए । केहीले भने बजारले चाडपर्व पछि पनि गति लिन नसकेकोमा निराशा पोख्दै गरेको पनि सुनिन्थ्यो । केही ब्रोकरहरुमा फेरि बैंकहरु मर्जरमा जाँदै गरेको गानेगुने पनि सुनिन्थ्यो ।
आज हामीे सबैभन्दा पहिले बिहान ११ बज्दा नबज्दै ज्ञानेश्वरमा रहेको सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुगेका थियौं । यस ब्रोकरमा बिहान ११ नबज्दै लगानीकर्ताहरु आएर डिस्प्लेमा टोलाएका देखिन्थे । यत्तिकैमा एक लगानीकर्ताले मुख खोले ‘साथिहरु तपाँइहरुले कत्तिको याद गर्नु भएको छ ? यस पाली बुल नन् फण्डामेन्टलमा मात्रै आयो तर नेप्सेमा आएन । आधाभूत रुपमा राम्रा भनिएका कम्पनीहरुमा बुल आएन । बरु झनै घटेर थला परियो ।’ उनले थप्दै भने, ‘मैले ग्रिन डेभलपमेन्ट र कर्णाली डेभलपमेन्ट बैंकमा खेलेर भने ठीकै भयो । कर्णाली तल भयो भने ग्रीन डेभलपमेन्ट माथि गयो । त्यस्तै ग्रिन खस्दा कर्णाली माथि गयो । अहिले त बजारमा खेलाडीको सेयर चिनेमा कमाइ हुने भएको छ । होइन भने बजारमा ठण्डाराम नै पनि हुने देखियो ।’
यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले भने बैंकहरु पुनः मर्जमा जान थालेको बताए । ती लगानीकर्ताले भने, ‘ग्लोबल बैंकले सिटिजन्स बैंक र नबिल बैंक मर्ज गर्न हल्ला सुनिन्छ ।’ तर उनीसँगै बसेका एक लगानीकर्ताले भने यो सम्भव नरहेको प्रतिक्रिया दिए ।
ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । भित्ताको घडिमा १२ बजिसकेको थियो । यहाँबाट हामी नजिकै रहेको सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौं । यहाँ पनि केही नयाँ र केही पुराना लगानीकर्ताको उपस्थिति राम्रै थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बजार यो साता अझै घट्ने तर्क गरे । उनले थप्दै भने, ‘अहिले ब्याजको लागि बेचेका हुन सक्छन् । अर्को साताबाट त बजार पक्कै फर्किन्छ ।’ उनीसँगै बसेका लगानीकर्ताले भने मुक्तिनाथ विकास बैंक जस्तो बैंकले केही लाभांश दिएन । गरिमा विकास बैंकले पनि खासै दिन सकेन । उनीसँगै बसेका एक लगानीकर्ताले आफ्नो तर्क राखे, ‘यी बैंकको डीपीएस खासै राम्रो थिएन ।’
यसै ब्रोकरमा भेटिएका अर्को लगानीकर्ताले निराश हुँदै भने, ‘अब त यो सेयर बजार हेर्न मन नै लाग्न छाड्यो । यो मूल्यमा मान्छेले सेयर किन बेच्छन होला ? अब सरकार परिवर्तन हुने हल्ला पनि सकियो । ओली र देउवा नै मिलेर सरकार चलाउने हल्ला छ । बजारले छिट्टै गति लिन्छ ।’
यहाँबाट हामी नक्सालमा नै रहेको सन् सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६४) मा पुग्यौं । यस बेलासम्म भित्ताको घडिमा १ बजिसकेको थियो । दिनभर घटेको बजार झिनो अंकले भएपनि सकरात्मक बन्दै थियो । यस ब्रोकरमा भेटिएकी एक महिला लगानीकर्ता भनिन् ‘अब त बजारमा राम्रा भन्दा पनि नराम्रा नन्फण्डामेन्टल कम्पनी मात्रै छानेर किन्न थाले लगानीकर्ताले ।’ उनले मोबाइल देखाउँदै भनिन्, ‘कारोबार किन घटेको हो ? कतै बजार डिप्रेशन जाने त होइन ? उनको जिज्ञाशा मेटाउँदै उनीसँगै बसेका अर्का एक लगानीकर्ताले भने, ‘त्यसो होइन होला साथि, भोल्युम घट्नु भनेको त बेच्नेहरु पछि हट्दै छन् भन्ने हो ।’ ब्रोकरहाउसमा यस्तै गफगाफ चल्दै थिए ।
यहाँबाट हामी नक्सालमा नै रहेको नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । बजार सामान्य तल–माथि गर्दै थियो । यस ब्रोकरमा भेटिएका लगानीकर्ताले लो क्याप कम्पनीको चर्चा गर्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले ग्रुप म्यासेज देखाउँदै भने, ‘लौ हेर्नुस् ! खेलाडीहरुबाट आएको म्यासेज ! यो साता मलाई खेलाडीले मेन्छियाम हाइड्रो, त्रिशुली जलविद्युत र मोलुङ हाइड्रो चल्छ है भनेर म्यासेज आएको छ । अहिले त यस्तो ग्रुपमा नलाग्ने हो भने सेयरबजारबाट कमाई नै छैन ।’ ती लगानीकर्ताले ठट्यौली पारामा भने ।
यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले बैंकहरु मर्जमा जान सक्ने आँकलन गर्दै ग्लोबल बैंक र एनआइसी एसिया बैंक मर्ज गर्न लागेको हाल्ला आफूहरुले पनि सुनेको बताए । ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । भित्ताको घडिमा साढे २ बजिसकेको थियो । हामीले ग्राउण्ड जिरो आजलाई यहीँ नै बिट मार्ने निधो गर्यौं ।