काठमाण्डौ । बीमा पोलिसी सरेण्डरमार्फत जीवन बीमा कम्पनीहरुबाट साढे ७ अर्ब रुपैयाँ बाहिरिएको छ । चालु आवको ६ महिनासम्ममा १४ जीवन बीमा कम्पनीबाट ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बाहिरिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार सो अवधिसम्म ५४ हजार ४१४ जना बीमितले सो रकम बराबरको बीमा पोलिसी त्याग गरेका हुन् । पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो छ । बीमितहरुमा अवधि परिपक्व नहुँदै बीमालेख त्याग गर्ने प्रवृत्ति बढ्दा जीवन बीमा क्षेत्रमा नराम्रो धक्मा पुगेको छ ।
जीवन बीमा कम्पनीहरुले चालु आवको ६ महिनासम्म ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सरेण्डर भएको रकम कुल व्यवसायको लगभग १० प्रतिशत रकम हो । जीवन बीमकहरुले व्यवसाय बढाएपनि मासिकदरमा सरेण्डरमार्फत अर्बौ रकम बाहिरिँदै गएको छ ।
बीमा प्राधिकरणका अनुसार बीमा गरेको तीन वर्षपछि मात्रै पोलिसी त्याग वा बन्द गर्न पाइने व्यवस्था छ । बीमितहरुले १० वर्ष वा सो भन्दा बढी अवधिका लागि बीमा गरेपनि तीन वर्षपछि अवधि परिपक्व नहुँदै पोलिसी सरेण्डर गर्ने प्रवृत्तिले सिँगो जीवन बीमा क्षेत्रलाई नकारात्मक असर पारेको छ । साथै पोलिसी सरेण्डरले बीमकसँगै बीमित स्वयम्लाई पनि घाटा हुने देखिन्छ ।
बीमा पोलिसी समर्पण गर्नेको संख्या घटाउन नेपाल बीमा प्राधिकरणले विभिन्न खालका सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । साथै जीवन बीमा कम्पनीहरुले समेत बीमालेख त्याग नहोस् भन्ने हेतुले व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराउन नविकरण शुल्कमा शतप्रतिशत छुट दिदैं आइरहेको छ । तर बीमा कम्पनीहरुले ल्याएका यस्ता योजनाहरु प्रभावकारी हुन सकिरहेको छैन ।
जीवन बीमा कम्पनीहरुबाट ६ महिनासम्म आइपुग्दा साढे ७ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी त्याग हुुँनुले मासिक दरमा अर्बौै रुपैयाँ बाहिरिदै गएको बुझ्न सकिन्छ । प्राधिकरणका अनुसार पुस महिनामा मात्रै १ अर्ब ३५ करोड ९४ लाख २८ हजार रुपैयाँ बराबरको ९ हजार ३५४ वटा बीमालेख त्याग भएका छन् । पछिल्लो समय मासिकदरमा औसतमा १ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको देखिन्छ ।
मंसिर महिनामा मात्रै ९ हजार ७५ बीमितले १ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर गरेका छन् । प्राधिरकणका अनुसार चालु आवको पहिलो महिना अर्थात् साउनमा पनि १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बराबरको १० हजार २९२ वटा बीमालेख सरेन्डर भएको थियो ।
यस्तै, भदौमा १ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९ हजार ४४९ वटा बीमालेख, असोजमा १ अर्ब ५० लाख र गत कात्तिक मसान्तसम्म आइपुग्दा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको ३५ हजार ९८५ वटा बीमालेख सरेन्डर भएको थियो ।
कुन कम्पनीबाट कति ?
चालु आवको ६ महिनासम्म सर्वाधिक एलआइसी नेपालबाट बीमा पोलिसी सरेण्डर भएको छ । कम्पनीबाट मात्रै १३ हजार ९६८ बीमितले २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर गरेका छन् । यो कुल सरेण्डर भएको रकमको ३२ प्रतिशत रकम हो । कम्पनीको कुल व्यवसायको २५.२२ प्रतिशत सरेन्डर भएको हो । ६ महिनामा एलआइसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, दोस्रोमा नेपाल लाइफबाट सरेण्डरमार्फत ठूलो रकम बाहिरिएको छ । ६ महिनामा कम्पनीका १२ हजार २४१ बीमितले २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर गरेका छन् । यो कुल सरेन्डरको २७.०९ प्रतिशत हुन आउँछ ।
यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको ७ हजार २०७ बीमितबाट ६७ करोड ६ लाख, एशियनको ४६ करोड ८१ लाख, नेशनल लाइफको ३ हजार १०४ बीमितबाट ४६ करोड ५१ लाख, सूर्यज्योति लाइफको २ हजार ९४० बीमितबाट ३८ करोड ९४ लाख, हिमालयन लाइफको ३ हजार ५९० बीमितबाट ३३ करोड २३ लाख, मेट लाइफको १ हजार ७९४ बीमितबाट १९ करोड ६६ लाख, सानिमा रिलयान्स लाइफको ९४२ बीमितबाट १३ करोड १२ लाख, आइएमई लाइफको ९०८ बीमितबाट ९ करोड ९६ लाख, सिटिजन लाइफको १ हजार ३८८ बीमितबाट ११ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ ।
प्राधिकरणका अनुसार प्रभू महालक्ष्मी लाइफको ७०३ बीमितबाट ९ करोड ८२ लाख, रिलायवल नेपाल लाइफको ८६३ बीमितबाट ५ करोड ५६ लाख, सन नेपाल लाइफको ३६१ बीमितबाट ३ करोड ५२ लाख रुपैयाँ बराबरको बीमालेख बन्द भएका छन् ।
‘सरेण्डरदर बढ्नुमा ८० प्रतिशत हात बीमा कम्पनीको छ’
जीवन बीमा कम्पनीहरुबाट यसरी अर्बौ रकम बीमालेख समर्पणमार्फत बाहिरिनुमा ८० प्रतिशत हात बीमा कम्पनीकै रहेको पेशागत अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारी बताउँछन् । बीमा बेच्न र त्यससँग सम्बन्धित सम्पूर्ण कार्य गर्न अभिकर्तालाई मात्रै छोडिदिंदा सरेण्डरदर बढेको उनको भनाई छ ।
‘बीमालेख समर्पणमार्फत यसरी अर्बौ रकम बाहिरिनु पक्कै पनि बीमा क्षेत्रको लागि राम्रो होइन तर यसमा बीमा कम्पनीकै कमजोरी छ’ उनले भने, ‘बीमा बिक्री गर्न र व्यवसाय भित्र्याउन अभिकर्तालाई दबाब सिर्जना गरिदिने तर अभिकर्तालाई उपयुक्त तालिम नदिने यस्तो प्रवृत्तिले सरेण्डरदर बढ्दै गएको हो ।’
साथै बीमा कम्पनी स्वयम्ले पनि बीमितहरुलाई सरेण्डदर गर्दा के कस्तो घाटा हुन्छ त्यसको विषयमा बुझाउनुपर्ने उनको तर्क छ । ‘बीमाको विषयमा बीमतिलाई अभिकर्ताले मात्रै बुझाउनुपर्छ भन्ने गलत मान्यता छ, बीमा सम्बन्धित अवयनेस फैलाउने र सरेण्डरको विषयमा कम्पनीले पनि बुझाउन जरुरी छ’ उनले भने, ‘अभिकर्ताको काम बीमाको बारेमा बुझाएर बीमा गराउने हो, तर बीमितले पोलिसी सरेण्डर गर्नुपर्दा शाखासम्म गई बीमालेख समर्पण गर्छन् त्यो बेला कम्पनीले पनि बीमालेख त्याग गर्दा हुने बेफाइदाका विषयमा बुझाउन सक्नुपर्छ ।’
पोलिसी सरेण्डरको प्रभाव व्यवसायमा देखिएन
जीवन बीमा कम्पनीहरुबाट बीमा पोलिसी सरेण्डरमार्फत मासिक अर्बौ रुपैयाँ बाहिरिएपनि कम्पनीहरुको व्यवसाय बृद्धिमा यसको प्रभाव देखिएको छैन । चालु आवको ६ महिनासम्म जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने यसको ९.२५ प्रतिशत मात्रै बीमा पोलिसी सरेण्डर भएको तथ्याङ्कले देखाएको छ ।
बीमा ऐनमा नै बीमितले बीमा गरेको तीनवर्षपछि पोलिसी त्याग गर्न पाउने व्यवस्था छ । यसअघि बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने व्यवस्था रहेकोमा बीमा प्राधिकरणले एकल बीमालेखमा देखिएको वेथिति रोक्नका लागि त्यस्तोे व्यवस्थालाई परिमार्जन गर्दै तीन वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था गरेको छ ।
सरेण्डरदर मासिक रुपमा बढ्दै गएपनि जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जनसँगै नयाँ व्यवसाय पनि उल्लेख्य बढ्दै गएको देखिएको छ । गत आवको ६ महिनासम्म नयाँ व्यवसायमार्फत १३ अर्ब ८१ करोड प्रिमियम संकलन गरेका जीवन बीमकहरुले चालु आवको ६ महिनासम्ममा १४.६५ प्रतिशत व्यवसाय बढाएर १५ अर्ब ८४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
त्यस्तै, यता नविकरणमार्फत संकलन हुने बीमा व्यवसाय पनि ४.९४ प्रतिशतले बृद्धि भएको छ । गत आवको ६ महिनासम्म नविकरणमार्फत ६० अर्ब ४० करोड प्रिमियिम संकलन भएकोमा चालु आवको सोही अवधिसम्म ६३ करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ ।
चालु आवमा विशेषगरी लघुबीमा कम्पनीहरुको व्यवसाय उल्लेख्य बढेको छ । साथै वैदेशिक रोजगार बीमालेखमार्फत पनि एक अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । बीमा कम्पनीहरुको रेगुलर व्यवसाय भन्दा पनि नयाँ व्यवसाय उल्लेख्य बढ्न पुग्दा बीमा पोलिसी सरेण्डरले कुल व्यवसायमा असर नपारेको हो ।