काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा र बीमाशुल्क आर्जनमा सामान्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८.७३ प्रतिशतले बढी हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३४ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७ अर्ब ६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ७ अर्ब ८९ करोडको तुलनामा २.१३ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ८२ लाख ,लगानी तथा कर्जा आम्दानी २ अर्ब ८९ करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४४ करोड ६८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
यस्तै कम्पनीको अन्य आम्दानी १ करोड ४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी १२ अर्ब २१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म भने कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड रुपैयाँ रहेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीले ९ अर्ब ८९ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.४९ प्रतिशतले बढी हो ।
यो अवधिमा कम्पनीको क्ल खर्च ६.५८ प्रतिशतले बढेर ११ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४६ करोड ९ लाख र रिटेन्ड अर्निङ २ अर्ब १३ करोड रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.२१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०५४.६७ रुपैयाँ, पीई रेसियो ४८.१७ गुणा कायम भएको छ ।