काठमाण्डौ । राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा माहौल बनिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आफू सक्रिय हुनसक्ने संकेत गर्दै सन्देश प्रवाह गरेका छन् ।
उनले जनताको भलोका लागि आफूले ओहोदा र सुखसुविधा त्यागेको दाबी गर्दै राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न दलहरुलाई चेतावनी समेत दिएका छन् ।
पूर्व राजाबाट प्रसारित शुभकामना सन्देशमा भनिएको छ-' व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद छ । राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न मलाई साथ दिन म नागरिकहरुलाई आह्वान गर्न चाहन्छु ।'
नागरिकलाई आफूलाई साथ दिन आह्वान गर्नुले कतिपयले पूर्वराजा अब राजसंस्था पुनस्र्थापनाको अभियानमा सरिक हुने रुपमा अथ्र्याएका छन् । मुलुकमा राजसंस्थाप्रति बन्दै गएको माहौलमा टेकेर पूर्वराजाले दलहरुलाई चेतावनी दिंदै सन्देश प्रवाह गरेको विषय अर्थपूर्ण देखिन्छ ।
पूर्वराजा शाहले विगतमा आफूले देशको उन्नतिका लागि त्याग गरेको र जनहित हुन्छ भने अन्य कुरा पनि त्याग्न तयार रहेको प्रष्ट्याएका छन् ।
‘पक्ष विपक्षको अहंकार आ आफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन ।' शाहले भनेका छन्दे-'शको इतिहास मेटिँदै गएको छ । नेपालको पसिना स्वदेशमा नभई बाहिर पोखिएको छ । तथापि जन्मँदै नेपालीको शिरमा हजारको होइन, लाखको ऋणभार बोझ छ । विद्यार्थी र शिक्षक पातलिँदै गएका छन् । व्यापार व्यवसाय पनि निरन्तर धरासायी बनिरहेको छ ।'
शुभकामना सन्देशमा उनले जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास सम्झाउँदै प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्नेमा जोड दिएका छन् ।