काठमाण्डौ । भ्रष्टाचारबाट आर्जित रकम सेयरबजारमा पुर्याएर ‘लेयरिङ’ गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध दायर गरेको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गैरकानुनी आर्जनको रकम अर्कै व्यक्तिको ब्रोकर खातामार्फत सेयरबजारमा लगानी गरिएको दाबी गरेको छ ।
अख्तियारले आचार्यले २०५४ माघ २ गतेदेखि २०८० मंसिर २१ गतेसम्म सरकारी सेवामा रहँदाको अवधिमा ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ वैधानिक आम्दानी गरेको देखिए पनि सोही अवधिमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँबराबरको सम्पत्ति खर्च तथा लगानी गरेको जनाएको छ । आम्दानी र खर्चबीचको अन्तर ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँलाई आयोगले गैरकानुनी सम्पत्ति आर्जनको बिगो कायम गरेको छ ।
आयोगको अनुसन्धानमा उक्त रकम घरजग्गा, डिपार्टमेन्ट स्टोर, ऋणसापटी तथा अन्य क्षेत्रमा मात्र नभई सेयर खरिदमा समेत प्रयोग भएको उल्लेख छ ।
अर्काको ब्रोकर खाताबाट सेयर किनबेच
आयोगले सार्वजनिक गरेको विस्तृत सम्पत्ति शुद्धीकरण चार्टमा आचार्यले भीष्म गड्तौलामार्फत सेयरमा लगानी गरेको छुट्टै विवरण समावेश गरेको छ ।
आयोगका अनुसार राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत १० लाख रुपैयाँको चेक प्रयोग गरी रकम परिचालन गरिएको र त्यसमध्ये ८ लाख ३८ हजार ७८४ रुपैयाँ ६३ पैसाको स्रोत नखुलेको तथा गैरकानुनी आर्जन भएको आयोगको दाबी छ ।
उक्त रकम इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडमार्फत भीष्म गड्तौलाको ब्रोकर खाता नम्बर २०१९०४२१४८ मा पुर्याइएको आयोगको अनुसन्धान विवरणमा उल्लेख छ ।
त्यसपछि सो खातामार्फत दोस्रो बजारमा विभिन्न कम्पनीका सेयर खरिद गरिएको र खरिद गरिएका सेयर पुनः बिक्री गरिएको देखाइएको छ । आयोगले यस प्रक्रियालाई सम्पत्ति शुद्धीकरणको ‘लेयरिङ’का रूपमा चित्रण गरेको छ ।
आयोगका अनुसार पछि १० लाख रुपैयाँ नगद फिर्ता गरिएकोमा सुरुवाती स्रोत नखुलेको ८ लाख ३८ हजार ७८४ रुपैयाँ ६३ पैसालाई सम्पत्ति शुद्धीकरणको बिगो कायम गरिएको छ ।
अर्थात्, अख्तियारको अनुसन्धानले गैरकानुनी रूपमा आर्जित भनिएको रकम बैंकिङ प्रणाली हुँदै ब्रोकर खातामा पुर्याएर दोस्रो बजारमा सेयर किनबेच गरिएको र त्यसलाई पुनः नगदमा रूपान्तरण गरिएको संरचना देखाएको छ ।
९ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको आरोप
अख्तियारले यदुनाथ आचार्य र अन्य प्रतिवादीहरूको संलग्नतामा आपराधिक क्रियाकलापबाट आर्जित ८ करोड २६ लाख २० हजार २७४ रुपैयाँबराबरको सम्पत्तिलाई ‘प्लेसमेन्ट’, ‘लेयरिङ’ र ‘इन्टिग्रेसन’मार्फत परिचालन गरी कुल ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसाबराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाएको छ ।
आचार्यविरुद्ध सम्पत्ति शुद्धीकरणतर्फ ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरी सजाय तथा सम्पत्ति जफत/असुलको मागदाबीसमेत गरिएको छ ।
समग्र अनुसन्धान विवरणमा घरजग्गा खरिदबिक्री, डिपार्टमेन्ट स्टोरमा लगानी, विभिन्न व्यक्तिसँगको आर्थिक कारोबार तथा सेयरबजारसमेत प्रयोग गरी गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने प्रयास गरिएको आयोगको दाबी छ ।
यो प्रकरणले भ्रष्टाचार तथा गैरकानुनी आर्जनबाट आएको रकम पूँजीबजारमा प्रवेश गराई ‘सेतो’ बनाउने प्रयास हुनसक्ने जोखिमतर्फ समेत गम्भीर प्रश्न उठाएको छ । विशेषगरी अर्काको नाममा रहेको ब्रोकर खातामार्फत कारोबार भएको दाबीले KYC, लाभग्राही पहिचान र शंकास्पद कारोबार निगरानी प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न पनि उब्जाएको छ।
यद्यपि यी सबै विषय अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख भएका दाबी हुन् । आरोपको अन्तिम निरुपण विशेष अदालतबाट हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।