काठमाण्डौ । ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा पाँच दिनमै १ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा कात्तिक १२ गतेदेखि सुरु भएको प्रदर्शनी पाँचौं दिनसम्म ३७ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
प्रदर्शनीको पाँचौं दिन मात्रै २१ लाख ५० हजार रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । प्रारम्भिक दिनमा अपेक्षाभन्दा राम्रो कारोबार भए पनि शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण मेला केही प्रभावित भएको थियो ।
आयोजकका अनुसार पहिलो दिन ८ हजार ९ सय जनाले प्रदर्शनी अवलोकन गरेका थिए । दोस्रो दिन ४ हजार २ सय, तेस्रो दिन १० हजार ७ सय, चौथो दिन ७ हजार २ सय ५० र पाँचौं दिन ६ हजार ७ सय ५६ जना अवलोकनकर्ता पुगेका थिए ।
मेला संयोजक सुमन महर्जनले अन्तिम दिन कारोबारसँगै अवलोकनकर्ताको संख्या थप बढ्ने अपेक्षा गरिएको बताए ।
अवलोकनकर्ता तथा व्यवसायीको आग्रहपछि प्रदर्शनीको अवधि दुई दिन थप गरी कात्तिक १८ गतेसम्म लम्ब्याइएको छ । फ्लोरिकल्चर एसोसिएसनका कार्यसमिति सदस्य तथा मेला सहसंयोजक कृष्णराम थापाका अनुसार इच्छुक सर्वसाधारणले बुधबारसम्म जावलाखेलस्थित प्रदर्शनीस्थलमा पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्री अवलोकन र खरिद गर्न सक्नेछन् ।
एसोसिएसनले बाँकी अवधिमा प्रदर्शनी अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।