काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत झण्डै दुई अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ७ महिनासम्ममा जीवन बीमकहरुले १ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा १५.०९ प्रतिशत बढी हो । गत आवको माघ महिनासम्ममा जीवन बीमकहरुले वैदेशिक रोजगार बीमालेखमार्फत् १ अर्ब ७१ करोड रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।
हाल १४ बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आइरहेका छन् । जसमा ११ ठूला जीवन बीमक र तीनवटा लघुबीमा कम्पनी रहेका छन् ।
लघुबीमा सञ्चालनमा आएपछि ठूला बीमकहरुको वैदेशिक रोजगार बीमा व्यवसाय खोसिएको छ । गत आवको सोही अवधिसम्मको तुलनामा प्रभु महालक्ष्मी, सन नेपाल लाइफ र एशियन लाइफ बाहेक सबै जीवन बीमकको यस्तो व्यवसाय घटेको छ ।
वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढेपनि ठूला जीवन बीमकहरुले वैदेशिक रोजगार बीमा व्यवसाय बढाउन सकेका छैनन् । चालु आवमा मात्रै तीन लघुबीमा कम्पनीले यस्तो व्यवसाय सुरु गरेपछि ठूला बीमकको हिस्सा खोसिएको छ ।
सो अवधिसम्म सबैभन्दा बढी सन नेपाल लाइफले ७९ करोड २१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै, दोस्रो बढी वैदेशिक रोजगार बीमा व्यवसाय भित्र्याउनेमा एशियन लाइफ रहेको छ । कम्पनीले ४४ करोड ९९ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।
त्यस्तै, नेपाल लाइफले १६ करोड १३ लाख, नेशनल लाइफले १३ करोड १४ लाख, आइएमई लाइफले १२ करोड ९९ लाख, सानिमा रिलायन्स लाइफले ९ करोड ९९ लाख, सृर्यज्योति लाइफले ७ करोड २४ लाख, रिलायबल नेपाल लाइफले ७ करोड १६ लाख, हिमालयन लाइफले ३२ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले २३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
यता लघुबीमाकम्पनीतर्फ भने सर्वाधिक गार्डियन माइक्रो लाइफले प्रिमियम संकलन गरेको छ । कम्पनीले सो अवधिसम्म २१ लाख रुपैयाँ यस्तो बीमालेख बिक्री गरेर प्रिमियम संकलन गरेको छ । त्यस्तै, लिबर्टी माइक्रो लाइफले १८ लाख रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
गत आवको तुलनामा सर्वाधिक यस्तो व्यवसाय बढाउनेमा एशियन लाइफ रहेको छ । कम्पनीले १९३.७८ प्रतिशतले वैदेशिक रोजगार बीमा व्यवसाय बढाएको छ ।
त्यस्तै, सन नेपाल लाइफले ८३.१९ प्रतिशत र प्रभु महालक्ष्मी लाइफले ४७.८६ प्रतिशतले यस्तो व्यवसाय बढाएको छ । सबैभन्दा धेरै व्यवसाय घट्नेमा भने नेपाल लाइफ रहेको छ । कम्पनीको यस्तो व्यवसाय ५७.१७ प्रतिशत घटेको छ ।
नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमा सामूहिक कोष (पुल) सञ्चालन सम्बन्धी निर्देशिका, २०८१ संशोधन गर्दै कोष प्रबन्धकको कार्य गर्न दुई पुनर्बीमकलाई भागण्डा लगाइदिएको छ । यसअघि हिमालन रि इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले सामूहिक रुपमा वैदेशिक रोजगार बीमाको पुलको काम गर्ने गरेका थिए ।
निर्देशिका बमोजिम अब दुई पुनर्बीमा कम्पनीले चार–चार वर्षमा पालैपालो वैदेशिक रोजगार बीमाको पुलको नेतृत्व गर्न पाउनेछन् ।