काठमाण्डौ । अमेरिकी राष्ट्रपतिले आजदेखि क्यानडा, मेक्सिको र चीनमाथि ट्यारिफ लगाउने निर्णय गरेसँगै अमेरिकी तथा एशियाली सेयर बजारमा गिरावट आएको छ ।
अमेरिकी सेयर बजार मापक इनडेक्स डो जोन्स १.४८ प्रतिशत अर्थात ६५० अंकले घटेको छ । यससँगै डो जोन्स ४३ हजार १९१ विन्दुमा झरेको छ । इन्ट्रा डे कारोबारमा डो लगभग ९०० अंकले घटेको थियो ।
यस्तै एस एण्ड पी५०० पनि १.७६ प्रतिशत र नास्डक कम्पोजिट पनि २.६४ प्रतिशतले घटेका छन् । एस एण्ड पी५०० मा आएको गिरावट यो वर्षकै उच्च हो । ट्रम्पले गत जनवरी २० देखि कार्यभार सम्हालेसँगै नास्डक पनि करिब ६.५ प्रतिशतले घटिसकेको छ ।
ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा अमेरिकामा २५ प्रतिशत र चीनमाथि थप १० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । ट्रम्पले यी देशहरूसँग सम्झौता गर्ने समय सकिएको कारण कर लगाइएको बताएका छन् ।
यस्तै आज जापानको सेयर बजार निक्की२२५ इन्डेक्स पनि ज्ञ.८२ प्रतिशत अर्थात ६८८.९६ अंकले घटेको छ । यो गिरावटसागै निक्की ३७ हजार ९६ विन्दुमा खुम्चिएको छ । टोपिक्स इन्डेक्स पनि १.४८ प्रतिशतले झरेको छ । जनवरीमा जापानको रोजगारीदर २.५ प्रतिशत पुगेको छ । जुन रोयटर्सले प्रक्षेपण गरेको २.४ प्रतिशतभन्दा बढी हो ।
यस्तै आज दक्षिण कोरियाको कोस्पी इन्डेक्स भने ०.११ प्रतिशतले बढेको छ । कोस्पीले आज गिरावटका साथ कारोबारको थालनी गरेको थियो । जनवरीमा दक्षिण कोरियाको खुद्रा बिक्री ०.६ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ ।
यस्तै हङकङको हाङसेङ इन्डेक्स पनि ०.६२ प्रतिशत अर्थात १४७ अंकले घट्दै २२ हजार ८४७ विन्दुमा कारोबार गरिरहेको छ । चीनको सीएसआई३०० इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेको छ ।
अष्ट्रेलियाको एस एण्ड पी/एएसएक्स२०० इन्डेक्स पनि १.०७ प्रतिशतले ओरालो लागेको छ ।