काठमाण्डौ । नेपालमा गुणस्तर प्रमाण चिन्ह प्रदान गरिएका उद्योगको सङ्ख्या ५७७ वटा रहेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाण्डौले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय सचेतनामूलक कार्यक्रममा हालसम्म निर्धारण गरिएका गुणस्तरको सङ्ख्या भने १ हजार १ सय ४८ वटा रहेको जानकारी दिईएको हो ।
यस्तै इजाजत पत्र एवं प्रमाणपत्र प्रदान गरिएको उद्योगको सङ्ख्या भने ४६४ वटा रहेको छ। नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरिएका वस्तुको सङ्ख्या ७० वटा भन्दा बढी रहेको छ । प्रणाली प्रमाणीकरण गरिएका उद्योग÷संस्था भने १९ वटा रहेका छन् ।
कार्यक्रममा नापतौल, ढक र तराजु, गुणस्तरीय वस्तुमा उपभोक्ताको अधिकार र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन खेल्न सकिने भूमिकाका विषयमा सचेतना गराइएको थियो ।
जनचेतनामूलक कार्यक्रममा नेपाल गुणस्तर चिन्ह, आईएसओ प्रमाणीकरणबारे र नेपाल गुणस्तर तथा नापतौल विभाग अन्तर्गतका कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।