काठमाण्डौ । पोखरामा अनलाईन जुवा तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।
पक्राउ पर्नेहरुमा ३१ बर्षीय रुपेन्द्र जिसी, ३३ बर्षीय विक्रम बानियाँ, २२ बर्षीय सज्जन घिमिरे, १९ बर्षीय रोजन केसी र २८ बर्षीय सन्दिप कटुवाल रहेका छन् । प्रहरीले ५ जनालाई फागुन २३ गते पक्राउ गरेको थियो।
५ जनाले १० बर्षदेखि अमेरिका बस्दै आएका पर्वत स्थायी घर भई पोखरा १४ चाउथे बस्ने इन्जिनियर रुपेन्द्र जिसीको नेतृत्वमा अनलाईन जुवा तथा क्रिप्टोकरेन्सी कारोवार गर्दै आएका थिए । जिसीले आफ्नै घरमा कार्यालय खोली आफन्तहरुलाई नै राखेर कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।
यो समूहबाट हालसम्म ३० करोड रुपैयाँ अनलाइन जुवाको नाममा कारोबार भइसकेको समेत प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका ५ जनाबाट मोबाईल ३२ थान, कम्प्यूटर मोनिटर दुई थान, कम्प्यूटर सिपीयू तीन थान, ल्यापटप चार थान, नगद ७२ हजार पाँच सय रुपैयाँ लगायत सामानहरु बरामद गरेको छ ।
निजहरुलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाएको र पाँच जनालाई जिल्ला अदालत कास्कीबाट सात दिनका लागी म्याद थप गरिएको छ ।