सोमबार, मंसिर ७,२०८३ 02:32:27
  • सोमबार, मंसिर ७,२०८३ 02:32:27
Global IME Bank Limited

नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने प्रधानमन्त्री मोदीको घोषणा

Bizshala
नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने  प्रधानमन्त्री मोदीको घोषणा
New Office

 

काठमाण्डौ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ (भारु) बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त सहयोगको घोषणा गरेका हुन्।

घोषित रकम नेपाली मुद्रामा ३ खर्ब ८४ अर्ब रुपैयाँ बराबर हुन्छ। तर, यसमध्ये कति रकम अनुदान र कति सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुने भन्ने विषय अझै स्पष्ट भएको छैन।

नेपालले भारतसँग एक खर्ब भारु अनुदान र एक खर्ब भारु सहुलियतपूर्ण ऋण गरी कुल दुई खर्ब भारु आर्थिक सहयोगको प्रस्ताव राखेको थियो। भारतले नेपालको प्रस्तावभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरेको हो।

बाढीपछिको पुनर्निर्माण र एक्सप्रेस वे निर्माणमा सहयोग माग

नेपालले प्रस्ताव गरेको एक खर्ब भारु अनुदानमध्ये ५० अर्ब भारु रसुवामा आएको बाढीपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना अघि सारेको थियो।

त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि थप ५० अर्ब भारु सहयोग माग गरिएको थियो।

यद्यपि, भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको सहयोग रकम कुन–कुन परियोजनामा परिचालन गरिने र कुन आयोजनाले कति रकम पाउने भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन।

CG Motors
Garima Development Bank
IME remit

विगतमा घोषणा भएको ठूलो ऋण रकम उपयोग हुन सकेन

भारतले यसअघि पनि नेपाललाई विभिन्न चरणमा सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने घोषणा गर्दै आएको छ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मा नेपाल भ्रमण गर्दा एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग घोषणा गरेका थिए। सन् २०१५ को विनाशकारी भूकम्पपछि उक्त रकमलाई पुनर्निर्माण सहयोगमा रूपान्तरण गरिएको थियो।

त्यसमध्ये २५ करोड अमेरिकी डलर अनुदान र ७५ करोड डलर सहुलियतपूर्ण ऋणका रूपमा छुट्याइएको थियो।

अनुदानतर्फको २५ करोड डलर भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ऋणतर्फको ७५ करोड डलरमध्ये करिब पाँच करोड डलर मात्रै उपयोग हुन सकेको थियो।

भारतीय लाइन अफ क्रेडिटअन्तर्गत निर्माण हुने आयोजनामा कम्तीमा ७५ प्रतिशत वस्तु तथा सामग्री भारतबाटै खरिद गर्नुपर्ने प्रावधानले ऋण उपयोगमा समस्या सिर्जना गरेको बताइएको छ।

यही कारण भारतले प्रतिबद्धता जनाएको ठूलो रकम खर्च हुन नसकेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ।

९० करोड डलरको ऋण सुविधा नेपालले रद्द गरेको थियो

नेपालले यसअघि भारतबाट प्राप्त ९० करोड अमेरिकी डलर बराबरको लाइन अफ क्रेडिट सन् २०२४ मा रद्द गरेको थियो।

उक्त ऋण सुविधा कार्यान्वयन हुन नसकेपछि नेपालले नयाँ वित्तीय व्यवस्थामार्फत सहयोग उपलब्ध गराउन भारतसँग आग्रह गरेको थियो।

अर्थ मन्त्रालय स्रोतका अनुसार यसअघि उपयोग हुन नसकेको ऋण सुविधामा केही रकम थप गरेर एक खर्ब भारुको नयाँ लाइन अफ क्रेडिट घोषणा गर्न नेपालले प्रस्ताव गरेको थियो।

तर, अनुदानतर्फ नेपालले अपेक्षा गरेको सम्पूर्ण रकम उपलब्ध हुने सम्भावना नरहेको संकेत स्रोतले गरेको छ।

घोषणाभन्दा कार्यान्वयन महत्वपूर्ण

भारतले घोषणा गरेको २ खर्ब ४० अर्ब भारुको आर्थिक सहयोग नेपालका लागि महत्वपूर्ण वित्तीय प्रतिबद्धता भए पनि यसको वास्तविक लाभ रकमको प्रकृति र उपयोगका सर्तमा निर्भर रहनेछ।

विशेषगरी अनुदान र सहुलियतपूर्ण ऋणको अनुपात, ब्याजदर, भुक्तानी अवधि, आयोजना छनोट तथा खरिदसम्बन्धी सर्तले सहयोगको प्रभावकारिता निर्धारण गर्नेछन्।

विगतमा ठूलो परिमाणको सहुलियतपूर्ण ऋण उपयोग हुन नसकेको अनुभवका कारण यसपटक घोषित रकम कार्यान्वयनमा कत्तिको सहजता आउँछ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ।

नेपालका लागि आर्थिक सहयोगको आकारसँगै अनुदानको हिस्सा, ऋणका सर्त र तोकिएका परियोजनामा रकम समयमै खर्च गर्न सक्ने क्षमता निर्णायक हुने देखिन्छ।

 

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.