काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) प्राइभेट पब्लिक पार्टनरसिपमा आधारित बैंक हो।
यो कम्पनीमा विभिन्न प्राइभेट र पब्लिकको लगानी छ ।
कम्पनीमा ५ वटा वाणिज्य बैंकको २०.८९ प्रतिशत, नेपाल सरकारको १० प्रतशित, १० वटा बीमा कम्पनीहरुको १८.९७ प्रतशित, अन्य १० प्राइभेट एन्ड पब्लिक कम्पनीहरुको ५.१५ प्रतशित, उद्यमीहरुबाट ४.९९ प्रतिशत गरी ६० प्रतिशत संस्थापक र सर्वसाधारणबाट ४० प्रतिशत गरी २१ अर्ब ६० करोड रुपैयाँको जारी पूँजी छ भने अधिकृतपूँजी ४० अर्ब रुपैयाँ छ। यो कम्पनी सन् २०१८ को जुनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।
आधारभूत पक्ष
यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । योसँगै कम्पनीको कुल पूँजी २५ अर्ब १७ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ६४ करोड २० लाख रुपैयाँ रहेको छ भने वितरण योग्य मुनाफा ५२ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५.९४ रुपैयाँ रहेको छ भने बुकभ्यालु ११६.५४ रुपैयाँ छ । रिटर्न अन इक्विटी ५.१ प्रतिशत र खराब कर्जा ०.३ प्रतिशत रहेको छ ।
प्राविधिक पक्ष
इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय बर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।
माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ । यस आधारमा यो कम्पनीको सेयरभाउलाई बिश्लेषण गर्दा न्यून मूल्य १८२ देखि हालसम्म १ देखि ४ वेभसम्म चलेको र अब पाँचौ वेभमा कम्पनीको सेयरभाउले करिब ४५० देखि ५०० सम्म पुग्नसक्ने आँकलन गर्न सकिन्छ ।
(माथि मूख्य तस्बिर)
फियर एण्ड ग्रिड इन्डेक्स
यस आधारमा यो कम्पनीको सेयरभाउ हाल ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयरभाउमा लगानीकर्ताहरुको आकर्षण क्रमश बढ्दैछ भन्ने हो । यदि कम्पनीको सेयरभाउ ० देखि २० सम्म चल्छ भने स्ट्रङ बियरिस, २० देखि ४० सम्म चल्छ भने बियरिस र ४० देखि ६० सम्म चल्छ भने न्यूट्रल, ६० देखि ८० सम्म चल्छ भने बुलिस र ८० देखि १०० सम्म चल्छ भने स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको मानिन्छ ।
कम्पनीको ५२ साताको उच्चमूल्य ३४९ मूल्य र न्यून मूल्य १८९ रुपैयाँ सम्म पुगेको थियो ।

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल मध्यब्याण्डलाई ब्रेक गरेर अपर ब्याण्डसँगै चल्दै गरेको देखिन्छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दूरी साँघुरिदै गएको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम पनि सकारात्मक बन्दै गएका छन् । मनीफ्लो इन्डेक्स ओभरसोल्ड जोनबाट फर्केर ६० को तहमा चलेको देखिन्छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयरभाउ बुलिस बन्दै गरेको देखिन्छ ।

पिभट् प्वइन्ट
पिभट विश्लेषणबाट सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ३६०
प्रतिरोध २ – ३३४
प्रतिरोध १– ३०६
पिभट प्वइन्ट: २७९
घटेमा सपोर्ट
सपोर्ट १– २५१
सपोर्ट २– २२४
सपोर्ट ३ –१९६

निष्कर्ष
आधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको जगेडाकोषमा सुधार आएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा खुद मुनाफा र प्रतिसेयर आम्दानीमा सामान्य गिरावट देखिन्छ । रिटर्न अन इक्विटीमा पनि खासै सुधार आएको छैन । यद्यपि बुक भ्यालुमा भने सामान्य सुधार भएको देखिन्छ । प्राविधिक रुपमा यो कम्पनीलाई नियाल्दा बोलिङ्गर ब्याण्ड, म्याक्डी र एमएफआइमा बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ ।
(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)