काठमाण्डौ । नुवाकोटको एक गाउँमा खेती किसान गरेर बस्दै आएका व्यक्ति हुन् हरि । एक दिन उनको गाउँमा जीवन बीमाको अभिकर्ता पुगे, जीवन बीमा गराउनका लागि ।
हरिले पहिले पनि जीवन बीमाबारे सुनेका थिए । तर त्यतिखेर बीमा गरेपनि आवश्यक पर्दा दाबी भुक्तानी पाउन निकै गाह्रो हुने कुरा कसैले सुनाएका थिए ।
बीमा अभिकर्ताले हरि सहितका गाउँका अन्य व्यक्तिहरूलाई पनि जीवन बीमा कम्पनीले समयमै दाबी भुक्तानी दिने गरेको बताउँदै जीवन बीमाका अन्य फाइदा तथा नगर्दा हुने बेफाइदा पनि बेलिविस्तार लगाए ।
हरिले मन लागि नलागि आफ्नो छोरा रमेशको नाममा जीवन बीमा गराए । समय बित्दै गयो । तर अचानक एकदिन सडक दुर्घटनामा रमेशको मृत्यु हुन पुग्यो । हरिको जीवनमा अन्धकार छायो । अब उनलाई साहरा दिनका लागि छोरा साथमा भएनन् । उनी एक्लिए । दुःखका बीचमा एक दिन हरिले रमेशको नाममा गरिदिएको जीवन बीमा सम्झिए ।
उनले जीवन बीमा कम्पनीको आफ्नै गाउँमा भएको शाखामा गएर प्रक्रिया बुझे । मृत्यु प्रमाणपत्र, नाता प्रमाणपत्र, बैंक खाता विवरण लगायत दाबी भुक्तानीका लागि आवश्यक कागजात तयार पारे । त्यसको एक सातामै उनले रमेशको बीमा वापतको रकम भुक्तानी पाए ।
यतिखेर उनले पहिले सुनेको जीवन बीमामा भुक्तानी ढिलाइ हुन्छ भन्ने भाष्य पूरै गलत साबित भयो । त्यसपछि जीवन बीमाप्रति हरिको सोचाइ बदलियो । अहिले उनले गाउँगाउँमा जीवन बीमामा ‘ब्लेम गर्न भन्दा क्लेम गर्न सहज हुन्छ’ भन्ने कुरा बुझाउन थालेका छन् ।
हरि एक प्रतिनिधि पात्र मात्र हुन् । नेपालको जीवन बीमा कम्पनीहरूले छिटो र छरितो रुपमा दाबी भुक्तानी थालेको केही वर्ष भइसकेको छ । अहिले हरिले मात्र होइन बीमा गर्ने प्रायःले दाबी भुक्तानी छिटो र सरल तरिकाले पाइरहेका छन् ।
विगतमा, बीमा कम्पनीहरूमाथि दाबी प्रक्रियामा ढिलासुस्ती, जटिल कागजी प्रक्रिया र अपारदर्शी व्यवहारको आरोप लाग्ने गरेको थियो । यस्ता गुनासोले ग्राहकहरूमा निराशा र अविश्वास उत्पन्न गर्ने गरेको थियो । तर अहिले बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानीलाई छिटो र चुस्त गतिमा लगिरहेका छन् । यसले नेपालमा ब्लेम गर्न भन्दा क्लेम गर्न सहज हुने अवस्थाको चित्रण गरेको पाइन्छ ।
नेपालमा जीवन बीमा प्रणालीले विगत केही वर्षमा उल्लेखनीय सुधारहरू गरेको छ । बीमा दाबी प्रक्रियामा पारदर्शिता, सरलता र प्रविधिको प्रयोगले गर्दा अब बीमा दाबी गर्नु पहिलेभन्दा धेरै सहज भएको छ । नेपाल बीमा प्राधिकरणले पनि बीमा दाबी प्रक्रियालाई पारदर्शी र सरल बनाउन विभिन्न उपायहरू अवलम्बन गरेको छ । बीमा दाबी गर्दा आवश्यक पर्ने कागजातहरू स्पष्ट रूपमा निर्दिष्ट गरिएको छ, जसले बीमित व्यक्तिहरूलाई प्रक्रिया बुझ्न र पालन गर्न सजिलो बनाएको छ ।
नेपालमा बीमा क्षेत्रको विकास भए तापनि धेरै नेपालीहरू बीमाको दाबी प्रक्रियालाई जटिल र असहज मान्छन् । तर वास्तविकतामा, आजको बीमा कम्पनीहरूले दाबी प्रक्रिया धेरै सरल र ग्राहकमैत्री बनाएका छन् ।
जीवन बीमाको दाबी प्रक्रिया सामान्यतया निम्न चरणहरूमा पूरा हुन्छः
दाबी दर्ताः बीमितको मृत्यु, अङ्गभङ्ग, वा पोलिसी अवधि पूरा भएमा हकवालाले बीमा कम्पनीमा दाबी दर्ता गर्छन् ।
आवश्यक कागजातहरूः मृत्यु प्रमाणपत्र, बीमालेख, पहिचान पत्र, र अन्य सम्बन्धित कागजात ।
दाबी फारमः अनलाइन वा कम्पनीको शाखा मार्फत बुझाउन सकिन्छ ।
कागजात जाँचः बीमा कम्पनीले कागजातको वैधता र पोलिसी सर्तहरू जाँच गर्छ ।
समयः यो प्रक्रिया सामान्यतया १–२ हप्ता लाग्छ, तर जटिल केसहरूमा लामो समय लाग्न सक्छ ।
दाबी स्वीकृति वा अस्वीकृतिः
कागजात र शर्तहरू ठीक भएमा दाबी स्वीकृत हुन्छ ।
अस्वीकृत भएमा कारण खुलाइन्छ, जस्तैः गलत जानकारी, पोलिसी अवधिमा भुक्तानी नभएको वा अपवाद शर्तहरू लागू भएको ।
भुक्तानीः स्वीकृत दाबीको रकम हकवालाको बैंक खातामा जम्मा हुन्छ । सामान्यतया, स्वीकृतिपछि ७–१५ दिनभित्र भुक्तानी हुन्छ ।
जीवन बीमा दाबीका लागि आवश्यक कागजातहरूः
१ परिपक्वता दाबी
२ दाबी फारम (बीमा कम्पनीले उपलब्ध गराएको)
३ सक्कल बीमालेख
४ परिचय खुल्ने कागजात
मृत्यु दाबीः
१ दाबी फारम
२ बीमितको मृत्यु प्रमाणपत्र
३ दुर्घटनाबाट मृत्यु भएको अवस्थामा सरकारी चिकित्सकद्वारा प्रदान गरिएको शव परीक्षणको प्रतिवेदन
४ इच्छाइएको व्यक्ति भए निजको नभए हकवालाको नाता प्रमाणित प्रमाणपत्र
यी कागजातहरू प्रस्तुत गरेपछि बीमा कम्पनीले दाबी प्रक्रिया अघि बढाउँछ र निर्धारित समयावधिमा दाबी भुक्तानी गर्दछ ।
प्रविधिको प्रयोगः अनलाइन सेवाहरू
पछिल्लो समय नेपालका बीमा कम्पनीहरूले अनलाइन प्रविधिको प्रयोग गर्दै बीमा दाबी भुक्तानीलाई अझ सहज बनाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स लगायतका जीवन बीमा कम्पनीहरूले दाबी भुक्तानीमा अनलाइन प्रविधि जोडेका हुन् । नेपाल लाइफले म्याच्युरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत बीमितहरूले घरमै बसेर अनलाइनमार्फत दाबी सम्बन्धी जानकारी दिन सक्नेछन्, जसको आधारमा कम्पनीले दाबी भुक्तानी प्रक्रिया अघि बढाउनेछ ।
बीमा दाबी प्रक्रियाः समय र पारदर्शिता
बीमा कम्पनीहरूले दाबी प्रक्रिया पारदर्शी बनाउन र समयमै दाबी भुक्तानी गर्न विशेष ध्यान दिएका छन् । बीमित व्यक्तिले आवश्यक कागजातहरू समयमै पेश गरेमा, बीमा कम्पनीले निर्धारित समयावधिमा दाबी भुक्तानी गर्दछ । यसले बीमित व्यक्तिहरूको विश्वास बढाएको छ र बीमा प्रणालीप्रति सकारात्मक धारणा विकास हुँदै गएको छ ।
नेपालमा जीवन बीमा दाबी प्रक्रिया पहिलेभन्दा धेरै सहज, पारदर्शी, र प्रविधिमैत्री भएको छ । बीमा कम्पनीहरूले प्रविधिको प्रयोग गर्दै अनलाइन सेवाहरू प्रदान गरेका छन्, जसले बीमित व्यक्तिहरूलाई दाबी प्रक्रिया सरल बनाएको छ । आवश्यक कागजातहरू स्पष्ट रूपमा निर्दिष्ट गरिएको छ, जसले दाबी प्रक्रिया पारदर्शी बनाएको छ । यसैले, अब ‘ब्लेम गर्नभन्दा क्लेम गर्न सहज छ’ भन्ने भनाइ जीवन बीमामा लागु हुन थालेको छ । जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी र दाबी दर हेर्ने हो भने पनि छिटो र छरितो दाबी भइरहेको पुष्टी हुन्छ ।