काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरका कार्यालय प्रमुखहरूलाई आजसम्म अनिवार्य रूपमा आफ्नो कार्यस्थलमा पुग्न निर्देशन दिएको छ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी गरेपछि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत मन्त्रालयमा आएको निर्देशनको आधारमा यस्तो सूचना सार्वजनिक गरिएको हो।
मन्त्रालयले जारी गरेको ‘अत्यन्त जरुरी सूचना’मा सबै जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सम्भावित विपद्का लागि सतर्क रहन, पूर्वतयारी गर्न र प्रतिकार्य कार्यमा सक्रिय हुन निर्देशन दिइएको छ।
साथै, मन्त्रालयले भारी वर्षासँग सम्बन्धित पहिरो, बाढी तथा जनधनको क्षति न्यूनिकरण गर्न आकस्मिक कार्ययोजना तयार गरी तुरुन्त कार्यान्वयन गर्न आवश्यक रहेको स्पष्ट पारेको छ।


                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                