काठमाण्डौ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित र सहज बनाउन ग्यास उद्योगहरूलाई विशेष निर्देशन जारी गरेको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै ग्यास आयात, भण्डारण र बजार वितरणका सबै प्रक्रिया पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योगहरूलाई निर्देशन दिएको हो।
उपभोक्ताले मागअनुसार सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने वातावरण सुनिश्चित गर्न निगमले आपूर्ति व्यवस्थापनमा विशेष सक्रियता देखाएको हो।
निगमले बजारको मागलाई ध्यानमा राख्दै एलपी ग्यासको आयात अधिकतम बढाउन ग्यास उद्योगहरूलाई भनेको छ। यसका साथै भन्सार नाकामा रहेका ग्यास बुलेटहरू समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउनसमेत निर्देशन दिइएको छ।
भन्सारमा ग्यास बोकेका बुलेटहरू लामो समय रोकिन नदिन तथा आयात भएको ग्यास तत्काल उद्योगसम्म पुर्याउने व्यवस्था मिलाउन निगमले जोड दिएको छ।
त्यस्तै, ग्यास उद्योगहरूलाई आफ्नो भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात कायम राख्न निर्देशन दिइएको छ।
निगमले ग्यास विक्रेता तथा बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भर्ने व्यवस्था मिलाई उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्नसमेत उद्योगहरूलाई आग्रह गरेको छ।
ग्यासको आयात बढाएर मात्रै आपूर्ति सहज नहुने भएकाले भण्डारण र वितरण व्यवस्थापनलाई समेत उत्तिकै प्रभावकारी बनाउनुपर्ने निगमको निष्कर्ष छ।
यसका लागि ग्यास आपूर्ति प्रणालीका तीन महत्वपूर्ण पक्ष आयात, भण्डारण तथा बजार वितरणलाई एकीकृत रूपमा परिचालन गर्न निगमले निर्देशन दिएको हो।
आपूर्ति शृङ्खलामा कुनै अवरोध सिर्जना हुन नदिई देशभरका उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको निगमले जनाएको छ।
आयात, भण्डारण र वितरणबीच प्रभावकारी समन्वय कायम गर्न सके बजारमा ग्यास आपूर्ति थप व्यवस्थित र सहज हुने निगमको अपेक्षा छ।
उपभोक्तालाई अनावश्यक ग्यास सञ्चिति नगर्न आग्रह
यसैबीच नेपाल आयल निगमले सर्वसाधारणलाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चिति नगर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना हुने गतिविधिमा संलग्न नहुन अनुरोध गरेको हो।
आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गरी घरमा भण्डारण गर्दा बजारको वितरण प्रणालीमा असन्तुलन आउन सक्ने भएकाले जिम्मेवार ढंगले ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।
निगमले ग्यास उद्योग तथा विक्रेताहरूलाई नियमित आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएसँगै बजारमा एलपी ग्यासको उपलब्धता थप सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।