काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कागजमा मात्र सीमित नराखी व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न आह्वान गरेका छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हिंसापीडितको संरक्षण, न्यायमा पहुँचको सुनिश्चितता र दण्डहीनताको अन्त्यमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका हुन्।
उनले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन तथा न्यायपूर्ण र समतामूलक समाज निर्माणको प्रमुख अवरोधका रूपमा चित्रण गरेका छन्।
प्रधानमन्त्री शाहले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै पछिल्लो समय डिजिटल माध्यमबाट हुने हिंसा पनि चुनौतीका रूपमा थपिएको बताएका छन्।
नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय र समावेशिताको सिद्धान्तलाई व्यवहारमा उतार्न हिंसाका सबै स्वरूपविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ।
यसका लागि हिंसा रोकथाम, पीडितको सुरक्षा, न्यायमा सहज पहुँच तथा दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न राज्यका सबै संयन्त्र सक्रिय हुनुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार सरकारले लैङ्गिक हिंसा न्यूनीकरणका लागि कानुनी तथा संस्थागत संरचना सुदृढ बनाउने, महिलाको सशक्तीकरण गर्ने, बालिका शिक्षालाई प्रोत्साहन गर्ने तथा हिंसापीडितको संरक्षण र पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
यस्ता प्रयासलाई परिणाममुखी बनाउन कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतना अभिवृद्धि, संस्थागत जवाफदेहिता र संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय आवश्यक रहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले यसै वर्ष भदौमा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रसंगसमेत उल्लेख गर्दै प्राकृतिक विपद्का समयमा महिला तथा जोखिममा रहेका समुदायमाथि हिंसाको सम्भावना बढ्न सक्नेतर्फ सचेत गराएका छन्।
विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा लैङ्गिक हिंसाको जोखिमलाई समेत गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनको सन्देश छ।
उनले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन सरकारी निकायसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, सामाजिक अभियन्ता र सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु भएको छ।
यस वर्ष संयुक्त राष्ट्रसंघले ‘महिला तथा बालिकामाथिको हिंसा अन्त्यका लागि एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित अभियान सञ्चालन गर्न आह्वान गरेको छ।
नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै छन्।
प्रधानमन्त्री शाहले १६ दिने अभियान औपचारिक कार्यक्रममै सीमित नभई हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणको साझा अभियान बन्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।