काठमाण्डौ । उदयपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेतीविरुद्ध अभियान तीव्र बनाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म प्रहरीले जिल्लाका विभिन्न क्षेत्रबाट २६ हजार ६७० बोट गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहतका प्रहरी इकाइहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानअन्तर्गत कटारी, बेलका, लिम्चुङबुङ र ताप्लीका विभिन्न क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरिएको हो।
जिल्ला प्रहरी कार्यालयले मंसिर ९ गते सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका नौ स्थानमा गाँजा खेती नियन्त्रण तथा फडानी अभियान सञ्चालन गरिएको थियो।
प्रहरीका अनुसार सबैभन्दा बढी कटारी नगरपालिकामा १४ हजार ५२० बोट गाँजा नष्ट गरिएको छ। त्यसैगरी, बेलका नगरपालिकामा ९ हजार ४५० बोट, लिम्चुङबुङ गाउँपालिकामा एक हजार ९५० बोट र ताप्ली गाउँपालिकामा ७५० बोट गाँजा फडानी गरिएको छ।
कटारी नगरपालिकाका मर्जेतपुर, बलोटे, आहाले, टाँटरी, सेउर्नेनी, बबला, भट्टाबारी र कालिखोलालगायत क्षेत्रमा अवैध गाँजा खेती फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, बेलका नगरपालिकाका पावला, तिलितले, खमारे, म्युङटार, पिल्लास र केक्रालगायत स्थानमा समेत प्रहरीले गाँजा फडानी अभियान सञ्चालन गरेको थियो।
जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा हुने अवैध गाँजा खेती नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीले गाँजा खेतीको पहिचान गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ।
लागुऔषधजन्य पदार्थको उत्पादन तथा कारोबार नियन्त्रण गर्ने प्रयासस्वरूप जिल्लाका विभिन्न स्थानमा प्रहरी परिचालन गरी गाँजा खेती नष्ट गर्ने अभियान अगाडि बढाइएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।