काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत सोमबार राति काठमाडौं आएका उनीहरूलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्दा शरीरमा लुकाएर ल्याएको अवस्थामा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ छन्। उनीहरूले प्लास्टिकले बेरेर मलद्वार तथा भित्री वस्त्रमा लुकाई आठ थान गोलाकार अर्धठोस पदार्थ ल्याएका थिए।
प्रहरीका अनुसार लिनाको साथबाट एक हजार ३४० ग्रामका पाँच थान र सिनपिङको साथबाट एक हजार आठ ग्रामका तीन थान पदार्थ बरामद भएको हो।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।