बुधबार, मंसिर ९,२०८३ 01:40:39
  • बुधबार, मंसिर ९,२०८३ 01:40:39
Global IME Bank Limited

बाढीले ध्वस्त जलविद्युत् आयोजना पुनर्निर्माण गर्न निजी क्षेत्र तयार, सरकारसँग माग्यो नीतिगत सहजीकरण

Bizshala
बाढीले ध्वस्त जलविद्युत् आयोजना पुनर्निर्माण गर्न निजी क्षेत्र तयार, सरकारसँग माग्यो नीतिगत सहजीकरण
New Office

 

काठमाण्डौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी ऊर्जा उत्पादकहरूले सरकारसँग आर्थिक सहायता नभई नीतिगत सहजीकरणको माग गरेका छन्।

निर्माण सम्पन्न हुने चरणमा पुगेका तथा व्यावसायिक उत्पादनको तयारीमा रहेका आयोजनासमेत बाढीले क्षतिग्रस्त बनाएपछि निजी क्षेत्रले पुनर्निर्माणका लागि विशेष नीतिगत व्यवस्था आवश्यक रहेको औँल्याएको हो।

भोटेकोशी बाढीबाट प्रभावित १३ जलविद्युत् आयोजनामध्ये ९ वटा निजी क्षेत्रका छन्। ती आयोजनाहरूको शतप्रतिशत बीमा गरिएको भन्दै निजी ऊर्जा उत्पादकहरू पुनर्निर्माणका लागि आर्थिक रूपमा तयार रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले प्रभावित आयोजनाको पुनर्निर्माणमा सरकारले अनुदान दिनुभन्दा कानुनी तथा प्रशासनिक अवरोध हटाइदिनुपर्ने बताएका छन्।

उनका अनुसार आयोजनाको बीमा गरिएको भए पनि पुनर्निर्माणको प्रक्रिया अघि बढाउन विद्यमान नीतिगत व्यवस्थामा आवश्यक सहजीकरण अपरिहार्य छ।

‘हामीले निजी क्षेत्रका आयोजनाको शतप्रतिशत बीमा गरेका छौँ। अब त्यहाँ पुनर्निर्माण गर्नुपर्छ,’ डाँगीले भने, ‘पुनर्निर्माण गर्दा जे–जस्ता अप्ठ्यारा हुन्छन्, त्यसमा सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत सहजीकरण गरिदिनुपर्छ।’

उत्पादनको तयारीमा रहेका आयोजना फेरि निर्माणकै चरणमा

भोटेकोशीको विनाशकारी बाढीले विशेषगरी निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरूलाई ठूलो धक्का दिएको छ।

व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने तयारीमा रहेको लाङटाङ जलविद्युत् आयोजनासमेत बाढीबाट प्रभावित भएपछि पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ।

निर्माण सम्पन्न गरेर विद्युत् बिक्रीबाट आम्दानी सुरु गर्ने अपेक्षामा रहेका आयोजनाहरू पुनः निर्माण प्रक्रियामा फर्कनुपर्दा लगानीकर्तामाथि थप समय र लागतको दबाब सिर्जना भएको छ।

प्राकृतिक विपद्ले सुरुमा निजी ऊर्जा उत्पादकहरूमा निराशा पैदा गरे पनि अहिले पुनर्निर्माणका लागि आत्मविश्वास बढेको इप्पान अध्यक्ष डाँगी बताउँछन्।

उनका अनुसार प्राकृतिक विपद्को जोखिमकै कारण मुलुकको जलविद्युत् सम्भावनाको उपयोग रोक्नु उपयुक्त हुँदैन।

‘सुरुमा हामी आफैँ पनि केही निराश थियौँ। तर पछि बुझ्दै जाँदा अहिले त्यो निराशा हटेको छ र उत्साहजनक अवस्था बनेको छ,’ उनले भने।

प्राकृतिक विपद्को जोखिम व्यवस्थापन गर्दै जलविद्युत् उत्पादनलाई निरन्तरता दिनुपर्नेमा निजी क्षेत्र प्रतिबद्ध रहेको उनको भनाइ छ।

आयोजनाको अनुमतिपत्र ५० वर्ष कायम गर्न माग

बाढीबाट प्रभावित आयोजनाहरूको पुनर्निर्माणलाई सहज बनाउन इप्पानले सरकारसमक्ष विभिन्न नीतिगत मागसहितको प्रतिवेदन पेस गरिसकेको छ।

उक्त प्रतिवेदनमा विद्युत् आयोजनाको अनुमतिपत्र अवधि ५० वर्ष कायम गर्नुपर्ने विषयलाई प्रमुख प्राथमिकता दिइएको छ।

डाँगीका अनुसार विद्युत् ऐन, २०४९ को व्यवस्थाअनुसार प्रभावित आयोजनाहरूको अनुमतिपत्र अवधि ५० वर्ष कायम गर्नुपर्ने इप्पानको माग छ।

विशेषगरी निर्माणको अन्तिम चरणमा पुगेका आयोजनाले बाढीपछि पुनः निर्माणमा अतिरिक्त समय खर्चिनुपर्ने भएकाले अनुमतिपत्रको विद्यमान अवधिले लगानीकर्तालाई थप दबाब सिर्जना गर्न सक्ने निजी क्षेत्रको तर्क छ।

आयोजनाको व्यावसायिक सञ्चालन ढिलो हुँदा विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीसमेत पछाडि धकेलिने भएकाले अनुमतिपत्रको अवधि पुनरावलोकन आवश्यक रहेको इप्पानले जनाएको छ।

प्रभावित आयोजनाको पुनर्निर्माणका लागि सरकारले आवश्यक नीतिगत निर्णय गरे निजी क्षेत्र तत्काल काम अघि बढाउन तयार रहेको डाँगी बताउँछन्।

उनका अनुसार निजी क्षेत्रका मागप्रति सरकार सकारात्मक देखिएको छ।

CG Motors
Garima Development Bank
IME remit

विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिन दबाब

बाढी प्रभावित आयोजनाको पुनर्निर्माणसँगै इप्पानले अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्ने मागसमेत अघि सारेको छ।

नेपालमा विद्युत् उत्पादनको क्षमता बढ्दै गएकाले उत्पादित बिजुलीका लागि भरपर्दो बजार सुनिश्चित गर्नु आगामी दिनको प्रमुख चुनौती बन्न सक्ने निजी क्षेत्रको बुझाइ छ।

इप्पान अध्यक्ष डाँगीले अन्तरदेशीय विद्युत् व्यापारलाई सरकार–सरकारबीचको सम्झौतामा मात्र सीमित नगरी निजी कम्पनीहरूबीचको व्यावसायिक कारोबारमा समेत विस्तार गर्नुपर्ने बताएका छन्।

उनका अनुसार सरकार–सरकार अर्थात् जीटुजी मोडलको तुलनामा व्यवसायी–व्यवसायी अर्थात् बीटुबी मोडलमा विद्युत् व्यापार गर्दा थप व्यावसायिक अवसर सिर्जना हुन सक्छन्।

नेपाल र भारतका निजी ऊर्जा कम्पनीहरूबीच प्रत्यक्ष व्यापारिक सम्बन्ध स्थापित भए दुवै देशका व्यवसायीले विद्युत् व्यापारका लागि आवश्यक नीतिगत वातावरण बनाउन आफ्ना सरकारसँग पहल गर्न सक्ने डाँगीको तर्क छ।

यसले अन्तरदेशीय विद्युत् व्यापारलाई थप प्रतिस्पर्धात्मक तथा व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

योग्य कम्पनीलाई तत्काल विद्युत् व्यापारको लाइसेन्स दिन आग्रह

इप्पानले विद्युत् व्यापारका लागि आशयपत्र अर्थात् लेटर अफ इन्टेन्ट (एलओआई) प्राप्त गरिसकेका कम्पनीहरूलाई आवश्यक योग्यता पूरा गरेपछि तत्काल अनुमतिपत्र दिनुपर्ने माग गरेको छ।

योग्यता पूरा गरिसकेका कम्पनीलाई लामो समयसम्म अनुमतिपत्र नदिई रोक्दा निजी क्षेत्रको लगानी तथा व्यापारिक योजना प्रभावित हुने डाँगीको भनाइ छ।

‘जो योग्य भएर आउँछ, त्यसलाई दुई वर्षसम्म नकुराई लाइसेन्स दिँदै जानुपर्छ,’ उनले भने।

उनका अनुसार निजी कम्पनीहरूलाई विद्युत् व्यापारको अनुमतिपत्र उपलब्ध गराउन सके निजी क्षेत्रले समेत विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्न थाल्नेछ।

यसले विद्युत् खरिदको सम्पूर्ण दायित्व नेपाल विद्युत् प्राधिकरणमा मात्र सीमित नराखी निजी क्षेत्रसँग समेत बाँड्न सकिने अवस्था सिर्जना गर्ने उनको विश्वास छ।

बैंकले स्वीकार गर्ने पीपीए नबनेसम्म लगानी जुटाउन कठिन

निजी क्षेत्रबीच विद्युत् खरिद–बिक्री सम्झौता गर्ने व्यवस्था भए पनि त्यस्ता सम्झौतालाई बैंक तथा वित्तीय संस्थाले विश्वास गर्ने वातावरण आवश्यक रहेको इप्पानले औँल्याएको छ।

जलविद्युत् आयोजना निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाको कर्जा महत्वपूर्ण हुन्छ।

तर निजी कम्पनीबीच भएको पीपीएका आधारमा ऋण लगानी गर्न बैंकहरू तयार नभए आयोजनाको वित्तीय व्यवस्थापनमा समस्या आउन सक्ने डाँगी बताउँछन्।

‘निजी क्षेत्रमा पीपीए गरेपछि त्यसको पैसा तिर्ने ग्यारेन्टी पनि हुनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रबीच पीपीए गर्‍यो, तर त्यो पीपीएलाई बैंकले पत्याएन भने लगानी त हुँदैन।’

यसकारण निजी विद्युत् व्यापारको अनुमति दिनेसँगै भुक्तानी सुनिश्चितता, सम्झौताको विश्वसनीयता र बैंकबाट लगानी प्राप्त गर्न सकिने वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ।

ऊर्जा क्षेत्रको पुनरुत्थानमा सरकारी निर्णय निर्णायक

भोटेकोशी बाढीले जलविद्युत् क्षेत्रमा प्राकृतिक विपद्को जोखिमसँगै नीतिगत व्यवस्थाको महत्वसमेत उजागर गरेको छ।

बीमा गरिएको भए पनि क्षतिग्रस्त आयोजनाहरूको पुनर्निर्माणमा लाग्ने समय, अनुमतिपत्रको अवधि, प्रशासनिक प्रक्रिया तथा भविष्यको आम्दानीको सुनिश्चितताजस्ता विषय समाधान गर्नुपर्ने अवस्था देखिएको छ।

अर्कोतर्फ, नेपालमा जलविद्युत् उत्पादन विस्तार हुँदै जाँदा विद्युत् बिक्रीका लागि नयाँ बजार तथा व्यापारिक संरचनाको आवश्यकता पनि बढ्दै गएको छ।

निजी ऊर्जा उत्पादकहरू पुनर्निर्माण तथा नयाँ लगानीका लागि तयार रहे पनि त्यसलाई व्यावहारिक रूप दिन सरकारी नीतिगत निर्णय महत्वपूर्ण हुने देखिन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.