काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः बढेको छ । पछिल्लो कारोबारमा १.४३ प्रतिशत अर्थात ५६ डलरले बढेसँगै सुनको भाउले पुनः प्रतिऔंस ४ हजार डलरको आँकडा पार गरेको छ ।
यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ४ हजार १७ डलरमा भईरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १०० प्रतिशत ट्यारिफ लगाएसँगै र विश्व राजनीतिक अस्थिरताका कारण सुनको भाउ वृद्धि भएको विश्लेषकहरुले बताएका छन् ।
यस्तै डलर कमजोर बन्दा समेत त्यसको प्रभाव सुनको भाउमा देखिएको छ ।
यस्तै लगानीकर्ताको ध्यान फ्रान्स र अमेरिकी सरकारमा देखिएको उथलपुथलमा समेत रहेको छ ।
गत बुधबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको थियो । उक्त दिन सुनको भाउ प्रतिऔंस ४ हजार ५९ डलरमा पुगेको थियो ।
यस्तै चाँदीको भाउ पनि १.४८ डलरले बढेर प्रतिऔंस ५०.०९ डलरमा कारोबार भईरहेको छ ।