काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले झण्डै दुई अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट क्षति भई परेको दाबीको बीमकहरुले असोज २८ गतेसम्ममा १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनीले बीमकहरुलाई बीमा वापतको पौने २ अर्ब रुपैयाँ दिएपछि बीमा कम्पनीहरुले भटाभट अग्रिम भुक्तानी सुरु गरेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म १८ बीमा कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँ बराबरको बीमा दाबी (अग्रिम भुक्तानी सहित) भुक्तानी गरेको हो ।
साथै, प्राधिकरणका अनुसार सो अवधिसम्म बीमा कम्पनीहरुमा कुल ३ हजार १६३ वटा दाबी अर्थात् २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । अझैपनि बीमा कम्पनीहरुले २३ अर्ब भन्दा दाबीको भुक्तानी दिन बाँकी रहेको ।
सो अवधिसम्म सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्योरेन्समा परेको छ । कम्पनीमा कुल ३९४ वटा दाबीको ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी छ । कम्पनीले ७८ करोड ८ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्समा ४३३ वटा बीमाको २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीमा ३४२ वटा बीमाको १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमा शिखरले ४२ करोड २७ लाख र सगरमाथा लुम्बिनीले २ करोड ७९ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ ।
