काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापारमा कायम विभिन्न नीतिगत तथा गैरभन्सार अवरोधका कारण नेपाली उद्योगले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले नेपाली जुट तथा स्टिल उद्योगले भारतीय बजारमा भोगिरहेका समस्या समाधान गर्न आग्रह गरेका हुन्।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख विदेशी लगानीकर्ता भए पनि अपेक्षाअनुसार लगानी भित्रिन नसकेको उनको भनाइ छ। नेपालमा भारतीय लगानी अझै एक अर्ब अमेरिकी डलरभन्दा कम रहेको उल्लेख गर्दै उनले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरे।
श्रेष्ठका अनुसार भारतले गत वर्ष मात्रै ९४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष विदेशी लगानी भित्र्याएको थियो। भारतले लगानी आकर्षित गर्न अपनाएका नीतिगत सुधार, प्रशासनिक चुस्तता र प्रभावकारी सेवा प्रवाहबाट नेपालले पनि सिक्नुपर्ने उनले बताए।
नेपाल सरकारले लगानीको वातावरण सुधार गर्न कानुनी तथा प्रक्रियागत सुधारलाई तीव्रता दिएको उल्लेख गर्दै उनले १०२ प्रकारका उद्योगमा स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरिएको जानकारी दिए। त्यसैगरी ५९ वटा ऐनका करिब ५०० दफा संशोधनको प्रक्रिया अघि बढाइएको उनले बताए।
जुट र स्टिल उद्योगमा भारतीय नीतिको असर
श्रेष्ठले भारतले नेपाली जुट उत्पादनमा लगाउँदै आएको एन्टी डम्पिङ शुल्कप्रति विशेष चासो व्यक्त गरे।
सन् २०१७ देखि लागू गरिएको उक्त शुल्कको यस वर्ष सेप्टेम्बरमा पुनरावलोकन गरिएको र थप काउन्टरभेलिङ शुल्क लगाउने विषयसमेत विचाराधीन रहेको उनले बताए।
नेपाली जुट उद्योगले पूर्वी नेपालका हजारौँ किसान र श्रमिकलाई रोजगारी दिइरहेको स्मरण गराउँदै उनले यी उद्योगलाई भारतीय उद्योगको प्रतिस्पर्धीका रूपमा नभई उत्पादन तथा आपूर्ति शृंखलाका साझेदारका रूपमा हेर्न आग्रह गरे।
नेपाली जुट उद्योगले भारतबाटै कच्चा जुट र आवश्यक मेसिनरी आयात गर्ने भएकाले यी उद्योगको संरक्षणले दुवै देशलाई फाइदा पुग्ने उनको तर्क थियो।
त्यस्तै, भारतीय बजारमा स्टिल उत्पादनमाथि लगाइएको सेफगार्ड शुल्कका कारण नेपाली निर्यात गम्भीर रूपमा प्रभावित भएको उनले बताए।
उनका अनुसार उक्त शुल्कको प्रभावले गत आर्थिक वर्षमा नेपालबाट भारततर्फ हुने स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको छ।
भारत विश्वको दोस्रो ठूलो स्टिल उत्पादक मुलुक भएको र भारतीय बजारमा नेपाली स्टिलको हिस्सा अत्यन्त न्यून रहेकाले नेपालबाट हुने सीमित निर्यातलाई सहजीकरण गर्नुपर्ने उनको आग्रह थियो।
बीआईएस प्रमाणीकरणको झन्झट हटाउन माग
श्रेष्ठले भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरण प्रक्रियामा केही सुधार भए पनि अझै विभिन्न प्रशासनिक समस्या कायम रहेको बताए।
विशेषगरी प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ तथा कच्चा पदार्थको प्रमाणीकरणसम्बन्धी व्यवस्थाका कारण नेपाली उत्पादन भारतीय सीमामा रोकिने गरेको उनले उल्लेख गरे।
यस्ता समस्याको दीर्घकालीन समाधानका लागि नेपाल र भारतबीच गुणस्तर मापदण्डको पारस्परिक मान्यताको व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
व्यापार तथा औद्योगिक सहकार्यमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय सुझाउन नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) सम्मिलित संयुक्त कार्यदल गठन गर्नसमेत श्रेष्ठले प्रस्ताव गरे।
उक्त कार्यदलले दुवै देशका सरकारलाई व्यापार सहजीकरण, नीतिगत सुधार तथा लगानी विस्तारका विषयमा संयुक्त सुझाव दिन सक्ने उनले बताए।
ऊर्जा र पूर्वाधारमा ठूलो सम्भावना
श्रेष्ठले नेपाल–भारत आर्थिक सम्बन्धलाई परम्परागत वस्तु व्यापारमा मात्रै सीमित नराखी ऊर्जा, पूर्वाधार, प्रविधि तथा औद्योगिक लगानीसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
नेपालमा आर्थिक रूपमा सम्भाव्य जलविद्युत् उत्पादन क्षमता ४० हजार मेगावाटभन्दा बढी रहेको तर त्यसको करिब १० प्रतिशत मात्रै विकास भएको उल्लेख गर्दै उनले भारतीय लगानीकर्ताका लागि ऊर्जा क्षेत्र ठूलो अवसर रहेको बताए।
नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
त्यस्तै, भारतीय बन्दरगाह नेपाली अन्तर्राष्ट्रिय व्यापारको प्रमुख प्रवेशद्वार भएकाले रेल सम्पर्क, विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली र एकीकृत जाँच चौकीको प्रभावकारिता बढाउनुपर्ने उनको सुझाव थियो।
भैरहवा, नेपालगञ्ज र दोधारा–चाँदनीलाई प्रमुख व्यापार तथा पारवहन केन्द्रका रूपमा विकास गर्न सके द्विपक्षीय व्यापारको लागत घट्नुका साथै उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्ने श्रेष्ठको विश्वास छ।
भारतीय लगानीकर्तालाई नीतिगत स्थायित्वको सन्देश
नेपालमा पर्यटन, कृषि प्रशोधन, औषधि उत्पादन, सिमेन्ट र सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै श्रेष्ठले लगानी विस्तारका लागि उपयुक्त समय भएको बताए।
नेपाल लिभर, नेपाल एसबीआई बैंक, डाबर नेपाल र सूर्य नेपालजस्ता भारतीय लगानी रहेका कम्पनीले लामो समयदेखि नेपालमा सफलतापूर्वक व्यवसाय सञ्चालन गरिरहेको उदाहरणसमेत उनले प्रस्तुत गरे।
लगानीकर्ताको विश्वास बढाउन सरकारले लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति कार्यान्वयनमा ल्याएको र कम्तीमा पाँच वर्षसम्म नीतिगत स्थायित्व कायम गर्ने उद्देश्य राखिएको उनले जानकारी दिए।
श्रेष्ठले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको उल्लेख गरे।
यो लक्ष्य हासिल गर्न स्वदेशी पूँजी र प्रविधिमात्र पर्याप्त नहुने भएकाले भारतीय निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
नेपालको औद्योगिक उत्पादन र निर्यात क्षमता बढ्दा भारतका लागि समेत नयाँ बजार र व्यावसायिक अवसर सिर्जना हुने भन्दै उनले दुई देशबीच प्रतिस्पर्धाभन्दा साझेदारीलाई प्राथमिकता दिन आग्रह गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।