काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले अत्यावश्यक काम बाहेक घरदेखि टाढा यात्रा नगर्न आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै निरन्तर वर्षा भईरहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागको कार्तिक १२ गतेको अद्यावधिक प्रक्षेपणअनुसार कार्तिक १३ गते बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनका प्रशासनले आग्रह गरेको छ ।
सम्भावित वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी एवं पूर्वकार्य सम्बन्धी देहाय बमोजिमका कार्यहरु गर्न गराउनु आग्रह गरिएको छ ः
१. उल्लिखित अवधिमा अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्ने ।
२. डुबान हुनेसक्ने बस्तीका बासिन्दाले उँचो ९अग्लो० र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने । आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने ।
३. प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने । जोखिम देखिए सुरक्षित स्थानमा सर्ने ।
४. पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउने धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने ।
५. प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमन बारे निर्णय गर्ने । सोको पालना गर्ने, गराउने ।
६. तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने ।
७. जोखिमयुक्त राजमार्ग र सडकहरुमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राखे ।
८. पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने ।
९. सुरक्षाका दृष्टिकोणले आवागमन बन्द गरिएका स्थानमा नजाने । यस सम्बन्धमा नजिकका सुरक्षा युनिटहरुसँग आवश्यक जानकारी लिने ।

