काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो चार महिनासम्म सार्वजनिक ऋणको आकार २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो रकम गत असोजको तुलनामा ५५ अर्ब ३६ करोडले बढी हो । गत असोजसम्म सरकारसले तिर्न बाँकी सार्वजनिक ऋणको आकार २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ थियो ।
कात्तिकसम्मको सार्वजनिक ऋणको आकार देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ४४.६९ प्रतिशत हो । कुल सार्वजनिक ऋणमध्ये १२ खर्ब ७५ अर्ब ९६ करोड आन्तरिक र १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । आन्तरिक ऋण जीडीपीको २०.८९ प्रतिशत र बाह्य ऋण २३.८० प्रतिशत हुन आउछ ।
सरकारले यस वर्ष ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ । सरकारले कात्तिकसम्म १ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ संकलन गरेको छ ।
यस्तै सरकारले चार महिनाको अवधिमा १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ । जसमध्ये १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ साँवा र बाँकी २३ अर्ब २७ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ ।
यस आर्थिक वर्षमा सरकारले ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

