काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश पारित गर्न साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस १५ गते ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाण्डौको गौशालामा रहेको बद्रिनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
पूँजीवृद्धि तथा बोनस सेयर वितरणपश्चात शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिनेछ ।
यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

