काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुन लागेको हो ।
उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे हुनेछ । अन्तिम दिनसम्म कम्पनीको आईपीओमा ३२.९८ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ४ हजार ८०० कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा झण्डै ३३ गुणा बढी हो ।
कम्पनीको आइपीओ ५० कित्ताका दरले बाँडफाँड गर्दा जम्मा साढे १८ हजार आवेदकले मात्रै सेयर पाउनेछन् । यसर्थमा आवेदन दिएका कुल आवेदकमध्ये ५ लाख ६५ हजार भन्दा बढीको हात खाली हुनेछ ।
मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
कम्पनीले प्रतिसेयर ८२०।८० रुपैयाँका दरले ९ लाख २४ हजार ७ सय ६८ कित्ता निष्कासन गरेको थियो ।
कम्पनीले गत मंसिर २२ गतेदेखि पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका लागि यसअघि आईपीओ जारी गरेको थियो ।

