काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने रु. १ अर्ब आकारको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा उल्लेखनीय रूपमा बढी आवेदन प्राप्त भएको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी उक्त योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री गत पुस ४ गतेदेखि पुस १८ गतेसम्म खुला गरिएको थियो। प्रारम्भिक विवरणअनुसार सो अवधिमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट रु. १ अर्ब २५ करोडभन्दा बढी, अर्थात् लक्ष्यभन्दा करिब २५ प्रतिशत बढी आवेदन प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ।
यससँगै सिटिजन्स क्यापिटल लिमिटेडद्वारा सञ्चालन भएका योजनामध्ये यो योजना अधिक आवेदन प्राप्त गर्ने म्युचुअल फण्ड योजनामध्ये एक बन्न सफल भएको छ। योजनाप्रति देखिएको व्यापक आकर्षण र उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपालको पूँजी बजारमा दक्ष, व्यावसायिक तथा विश्वसनीय संस्थाका रूपमा स्थापित गराएको कम्पनीको विश्वास छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन् ।
सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापन तथा डिपोजिटरी सेवा, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, सेयर रजिस्ट्रार सेवा तथा संस्थागत परामर्श सेवा जस्ता विविध सेवाहरू प्रदान गर्दै आइरहेको छ।
कम्पनीले आगामी दिनहरूमा पनि पारदर्शिता, सुशासन तथा लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री र लगानीमैत्री सेवामार्फत लगानीकर्तालाई विश्वसनीय तथा प्रतिस्पर्धी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका नयाँ योजनाहरू सञ्चालन गर्नुका साथै हाल सञ्चालनमा रहेका योजनाहरूबाट उच्च प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ लगानी व्यवस्थापनमा निरन्तर सक्रिय रहने कम्पनीले जनाएको छ।

