काठमाण्डौ । सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप समय दिएर अनुसन्धानलाई निष्कर्षमुखी बनाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले घटनासँग सम्बन्धित सबै पक्षको तथ्यगत अध्ययन गरी विश्वसनीय प्रतिवेदन पेस गर्न आयोगलाई समय थप गरिएको जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकासतर्फ पनि महत्त्वपूर्ण निर्णय गरेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने २० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ। यसले परियोजनाको प्रारम्भिक तयारी र गुणस्तरीय कार्यान्वयनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ।
यसैबीच, सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ। यसअघि प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा सहभागी हुने घोषणा गर्दै पदबाट राजीनामा दिएपछि प्रवक्ता पद रिक्त रहेको थियो।

