काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले फेरि एकपटक बलियो उछाल लिएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य प्रतिऔंस ५,२३१ अमेरिकी डलर नजिक पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब १२४ डलर (२.४४ प्रतिशत) ले वृद्धि हो । छोटो अवधिमै देखिएको यो तीव्र वृद्धिले सुन फेरि सुरक्षित लगानीको प्रमुख गन्तव्य बन्दै गएको संकेत गरेको छ।
बजार तथ्यांकअनुसार एकै दिनमा उल्लेख्य उकालो लागेको सुनको मूल्य पछिल्लो ६ महिनामा ५१ प्रतिशतभन्दा बढी ले बढिसकेको छ भने एक वर्षको अवधिमा करिब ७६ प्रतिशत को प्रभावशाली वृद्धि देखिएको छ । दीर्घकालीन दृष्टिमा हेर्दा पछिल्लो २० वर्षमा सुनको मूल्य ८ सय प्रतिशतभन्दा बढी ले उक्लिएको छ, जसले सुनलाई सबैभन्दा स्थिर र भरोसायोग्य सम्पत्तिको रूपमा पुनः स्थापित गरेको विश्लेषकहरूको भनाइ छ।
विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, भू–राजनीतिक तनाव, मुद्रास्फीतिको दबाब तथा केन्द्रीय बैंकहरूको नीतिगत सतर्कताका कारण लगानीकर्ता पुनः सुनतर्फ आकर्षित हुन थालेका छन् । यही कारणले सुनको माग बढ्दै जाँदा मूल्यमा निरन्तर दबाब परेको देखिन्छ।
यससँगै चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । पछिल्लो कारोबारमा चाँदी प्रतिऔंस ८७.८९ डलर पुगेको छ, जुन एकै दिनमा करिब ३.९ प्रतिशत को वृद्धि हो । सुन र चाँदी दुवैको मूल्यमा एकसाथ देखिएको उछालले बहुमूल्य धातु बजार फेरि तातेको स्पष्ट संकेत गरेको छ।
विश्लेषकहरूका अनुसार हालको प्रवृत्ति कायम रहे सुनको मूल्यले निकट भविष्यमा अझ नयाँ रेकर्ड बनाउने सम्भावना उच्च देखिन्छ । यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिने अपेक्षा गरिएको छ, जहाँ सुनको मूल्य थप महँगिने संकेत देखिन थालेको छ।

