शनिबार, श्रावण २,२०८३ 08:40:46
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:40:46
Bizshala
Global IME Bank Limited

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि नेप्सेद्वारा आजको कारोबार बन्द

लगानीकर्ता किन यति धेरै उत्साहित भए ? के अब नेप्सेले अलटाईम हाईको रेकर्ड ब्रेक गर्छ ?

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि नेप्सेद्वारा आजको कारोबार बन्द
New Office

काठमाण्डौ । चुनावी परिणामको प्रभावले सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमत(करिब दुईतिहाई बहुमत) आएपछि स्थिर सरकार बन्ने र त्यसले नीतिगत स्थिरता हुने आशासहित लगानीकर्ताले खरीदारी बढाउँदा सोमबार बजार खुलेदेखि नै सेयर किन्न नपाउने अवस्था देखियो ।  

किन्नेहरु मात्र थुप्रिएपछि र बिक्री गर्न कोही तयार नभएपछि एक मिनेटमै बजारमा पहिलो सर्किट लाग्यो । २० मिनेट कारोबार हल्ट गरी खुलेको बजारमा फेरि अर्को मिनेटमा नेप्से ५ प्रतिशत बढेपछि सर्किट लगाइयो । दोश्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार हल्ट गरिएको थियो ।  

त्यसपछि खुलाइएको बजार फेरि अर्को एक मिनेटमा थप १ प्रतिशत अर्थात कुल ६ प्रतिशतले बढेपछि तेश्रो सर्किट लगाएर आजका लागि कारोबार स्थगित गरियो । 

यो दिन नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ को विन्दूमा पुग्यो ।  

२५३ कम्पनीको सेयर खरीदबिक्री भएको बजारमा ५१ करोड बढीको कारोबार भयो । 

यसरी हेर्दा चुनावपछि खुलेको बजारमा अभूतपूर्व उछाल र उत्साहको अवस्था देखिएको छ । जसका कारण आज तीनवटा सर्किटअघिको अवधि हेर्दा जम्माजम्मी ३ मिनेट मात्र कारोबार हुन पायो । सामान्य अवस्थामा ४ घण्टासम्म कारोबार हुने बजार जम्माजम्मी ३ मिनेटको कारोबार भएर आजका लागि बन्द भयो।

किन आयो उछाल ?

सेयर बजारले चुनावअघिकै केही कारोबार दिनमा समेत चुनावपछिको परिदृश्य संकेत गरिरहेको थियो । देश रास्वपामय भएको छनक बजारले चुनावअघि नै दिइसकेको थियो । घण्टीमय(रास्वपाको चुनाव चिन्ह घण्टी हो) देश बनिरहेको बेला प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको स्पष्ट बहुमत आउने र त्यसले राजनीतिक अन्यौलता, नीतिगत स्खलन तथा ६/६ महिनामा नयाँ सरकार बन्ने दुर्भाग्यपूर्ण अवस्थाको अन्त्य गर्ने धेरैमा विश्वास देखिएको थियो ।  

ठूला तथा संस्थागत लगानीकर्ताहरु चाहिँ चुनावअघिसम्म पनि ‘पर्ख र हेर’को अवस्थामै थिए । चुनावअघिको केही कारोबार दिनमा बैंक तथा वित्तीय संस्था लगायतका केही संस्थागत लगानीकर्ताहरुले भने चूपचाप खरीदारी बढाउन थालेका थिए । 

यस्तै, कतिपय लगानीकर्ताहरुले भने चुनावअघि कित्ता थपेर जूवा खेल्ने रणनीतिसहित खरीदारी बढाउँदा त्यसको सकारात्मक प्रभाव बजारमा देखिएकै थियो ।  

चुनाव भएपछि त्यसको परिणामले यस्तो अवस्था देखाइदियो कि पर्ख र हेरको अवस्थामा रहेका ठूला तथा संस्थागत लगानीकर्ताहरु समेत आक्रामक ढंगले बजार प्रवेश गर्न खोजेकोे देखिन्छ । ठूला लगानीकर्ताहरुको यही आक्रामकता र त्यसमा सानाले थपेको बलका कारण बजारमा उछालको माहौल बनेको हो ।  

सेयर लगानीकर्ताहरुमा रास्वपाको स्थिर सरकार बनेपछि अर्थतन्त्र र सेयर बजारलाई राम्रोसँग बुझेका डा. स्वर्णिम वाग्ले अर्थमन्त्रीको रुपमा आउने विषयले समेत सकारात्मक प्रभाव पारेको देखिन्छ । यस्तै, रास्वपाले आफ्नो चुनावी बाचापत्रमा अन्य दलभन्दा एक कदम अगाडि बढेर सेयर बजारको दिगो सुधार तथा विकासका लागि सार्वजनिक गरेका प्रतिबद्धताका कारण समेत अहिले सोही दलको एकल सरकार बन्ने विषयले लगानीकर्तामा उत्साह थपेको देखिन्छ । रास्वपाले आफ्नो बाचापत्रमा सेयर बजारको आमूल सुधार गरी नेप्सेलाई अन्तराष्ट्रिय स्तरको बनाउने सगौरव घोषणा गरेको छ । यो विषयले समेत लगानीकर्ताहरुको अहिलेको उत्साहमा इन्धन भर्ने काम गरेको देखिन्छ ।  

बजारका विज्ञ तथा विश्लेषक र अनुभवी लगानीकर्ताहरुले आजबाट सुरु भएको बुल लामो समयसम्म रहने तथा नेप्से परिसूचकले अलटाईम हाईको रेकर्ड ब्रेक गर्नेसम्मको प्रक्षेपण गरिरहेका छन् । राजनीतिमा आएको ऐतिहासिक परिवर्तन र त्यसपछि बजारका लगानीकर्तामा देखिएको उत्साहलाई हेर्ने हो भने नेप्सेले अलटाईम हाई ब्रेक गर्ने समय आउन धेरै दिन पर्खिनुपर्छ भन्ने देखिन्न ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.