काठमाण्डौ । चालु आवको ७ महिनासम्ममा कुल वस्तु निर्यात ३२.२० प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
गत वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४०.३ प्रतिशत र ९.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५५.३ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकला लगायतका वस्तुको निर्यात घटेको छ ।
त्यस्तै सोही अवधिसम्म कुल वस्तु आयात १३.६ प्रतिशतले वृद्धि भई ११ खर्ब २३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आयात १०.१ प्रतिशतले वृद्धि भएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.५ प्रतिशत, २२.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, दाल, एम.एस.विलेट, एम.एस. तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात घटेको छ ।
सो अवधिसम्म कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले वृद्धि भई रु.९ खर्ब ५५ अर्ब ३४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.० प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात १२.९ प्रतिशत रहेको थियो ।

