काठमाण्डौ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्ने विषयमा गृहमन्त्रालयमा उच्चस्तरीय छलफल सुरु भएको छ।
गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ आकस्मिक रूपमा दुवै प्रहरीका महानिरीक्षक (आईजीपी) लाई सिंहदरबार बोलाएपछि सुरक्षा संयन्त्रमा चासो बढेको हो।
गृहमन्त्रीको बोलावटपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसहित उच्च प्रहरी अधिकारीहरू सिंहदरबारस्थित गृहमन्त्रीको कार्यकक्षमा पुगेका छन्।
सुधन निकट स्रोतकाअनुसार उनीहरूबीच आन्तरिक सुरक्षा र पछिल्ला राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भइरहेको छ। जेनजी आन्दोलनको विषयमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनले दोषी किटान गरेका तत्कालीन गृहसचिव, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी लगायतलाई समेत पक्राउ गर्ने विषयमा छलफल भएको बुझिएको छ ।
सोही क्रममा एमाले सचिव महेश बस्नेतका गतिविधिका कारण सुरक्षा चुनौति बढ्ने विश्लेषणसहित उनलाई पक्राउ गर्नुपर्ने विषयमा समेत छलफल भएको बुझिएको छ । 'अहिलेसम्म बस्नेतलाई पक्राउ गर्ने या नगर्ने भन्ने विषयमा स्पष्ट निर्णय आइसकेको छैन ।'-गृहमन्त्री सुधननिकट एक स्रोतले भनेको छ।
यसैबीच, सामाजिक सञ्जालमा महेश बस्नेतलाई पक्राउ गर्ने तयारी भइरहेको र प्रहरी उनको भक्तपुरस्थित गुण्डु घर वरपर पुगेको चर्चा व्यापक रूपमा फैलिएको छ। तर भक्तपुर प्रहरीले भने यो समाचार तयार पार्दासम्म यस्तो कुनै आदेश नआएको प्रष्ट पारेको छ ।
यद्यपि, गृहमन्त्रीले यसअघि पनि दुवै आईजीपीलाई बोलाएर छलफल गरेलगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णय भएको सन्दर्भले अहिलेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। त्यसैले बस्नेतमाथि पनि कुनै निर्णय हुनसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ।

