काठमाण्डौ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका पूर्व अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरिएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
जिल्ला अदालत काठमाडौँबाट वैशाख १० गते पक्राउ अनुमति लिएपछि सोही दिन नक्सालबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीमाथि ऐनको दफा ९४, ९५, ९६(१) र ९८ अनुसार कसूर गरेको आरोप छ भने दफा १०३(३) बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
गोल्छा नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन्। साथै, उनी गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्। दर्जनौँ उद्योग तथा व्यावसायिक प्रतिष्ठानसँग प्रत्यक्ष रूपमा जोडिएका गोल्छाको पक्राउसँगै निजी क्षेत्रमै चासो र तरंग पैदा भएको छ।

