काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि देखिएको छ । बैंकले समीक्षा अवधिमा ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३० करोड ६६ लाख रुपैयाँको तुलनामा १०५.२९ प्रतिशतले बढी हो।
बैंकको खुद ब्याज आम्दानीमा ०.७८ प्रतिशत मात्र वृद्धि भएको छ। मध्य पूर्वमा बढ्दो तनावका कारण पछिल्लो समय इन्धनको मूल्य बढेकाले ढुवानी लागत, उत्पादन लागत तथा समग्र महङ्गि बढेकाले व्यवसायीहरुको नाफा क्षमता घटाउने तथा कर्जा तिर्ने क्षमता घटाउने भएकाले यसले कर्जा तिर्ने क्षमतामा दबाब सिर्जाना गरेको छ । जसका कारण बैंकको ब्याज आम्दानीमा खासै सुधार भएको देखिदैन ।
यस्तै उक्त परिस्थितीले बैंकको खराब कर्जा बढाउन समेत सहयोग पुर्याएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ । बैंकको सञ्चालन खर्च ६.३१ प्रतिशतले बढेर ९४ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५२ करोड १६ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन ६४ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा कर्जा प्रवाह भने ४७ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भको आकार ३ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
यस्तै बैंकको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँबाट बढेर १९.०९ रुपैयाँ पुगेको छ । बैंकको पीई रेसियो १९.४३ गुणा,प्रतिसेयर नेटवर्थ १६३.४३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३७.९८ रुपैयाँ कायम भएको छ ।
बैंकको कस्ट अफ फण्ड भने ५.३७ प्रतिशतबाट घटेर ३.८८ प्रतिशतमा सीमित बनेको छ ।

